सारांश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन्।
शुक्रबार सम्पन्न पदाधिकारी निर्वाचनमा सोविताले ७८९ मत प्राप्त गर्दै विजय हासिल गरिन्। उनकी निकटतम प्रतिस्पर्धी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन्।
पदाधिकारी निर्वाचनमा कुल १ हजार २८९ मत खसेको निर्वाचन समितिले जनाएको छ। यसअघि केन्द्रीय सदस्य चयनका लागि भने २ हजार ९५९ मत खसेको थियो। तर, केही प्रतिनिधि पदाधिकारी निर्वाचनअघि नै फर्किएका कारण मतदान गर्नेको संख्या उल्लेख्य रूपमा घटेको देखिएको छ।
केन्द्रीय सदस्य निर्वाचनको तुलनामा पदाधिकारी निर्वाचनमा १ हजार ६७० जना कम प्रतिनिधिले मतदान गरेका थिए।
गत ७ असारदेखि चितवनमा सुरु भएको रास्वपाको प्रथम महाधिवेशन पदाधिकारीहरूको निर्वाचन परिणाम सार्वजनिक भएसँगै समापनतर्फ पुगेको छ।