सारांश
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई सोमबार पद तथा गोपनीयताको शपथ गराएका छन्।
शपथपछि अर्थमन्त्री वाग्लेले लगानीकर्ताको हित र लगानीको सुरक्षालाई प्राथमिकतामा राख्दै कुनै पनि लोभ, प्रलोभन वा प्रभावमा नपरी काम गर्न अध्यक्ष भट्टलाई निर्देशन दिए। उनले पुँजी बजार सुधारका लागि दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक कार्ययोजना तयार गरी कार्यान्वयन गर्न र बजारमा विश्वास बढाउने गरी काम गर्न आग्रह गरे।
वाग्लेले मन्त्रालयबाट हस्तक्षेप नहुने स्पष्ट पार्दै धेरै बोल्नुभन्दा कामबाट परिणाम देखाउनुपर्ने बताए। साथै, बजारको अवस्थाबारे प्रत्येक हप्ता मन्त्रालयलाई जानकारी गराउन पनि निर्देशन दिए।
नवनियुक्त अध्यक्ष भट्टले सरकारको नीति र सुधारका सिफारिसहरू कार्यान्वयन गर्दै पुँजी बजारको विकास र लगानीकर्ताको विश्वास मजबुत बनाउन इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।