सारांश
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल खैरोसूचीबाट कालोसूचीमा पुग्ने जोखिम रहेको भन्दै सम्पत्ति शुद्धीकरण नियन्त्रण र सुशासनका क्षेत्रमा तत्काल प्रभावकारी सुधार आवश्यक रहेको बताएका छन्।
शनिबार राष्ट्रिय सभाको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि उठेका प्रश्नको जवाफ दिँदै उनले नेपाल २०८१ फागुनदेखि खैरोसूचीमा रहेको स्मरण गराए। आवश्यक सुधारमा ढिलाइ भए मुलुक कालोसूचीमा पर्न सक्ने चेतावनी उनले दिए।
उनले कालोसूचीमा परे नेपालका अन्तर्राष्ट्रिय वित्तीय सम्बन्ध, विदेशी लगानी र आर्थिक विश्वसनीयतामा गम्भीर असर पर्ने बताए। नेपालले अन्तर्राष्ट्रिय साख जोगाउन सुशासन, वित्तीय अनुशासन र अन्तर्राष्ट्रिय मापदण्डको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने उनको भनाइ थियो।
रेमिट्यान्समा निर्भर अर्थतन्त्र भएकाले विदेशी लगानी आकर्षित गर्न विश्वसनीयता बढाउनु अपरिहार्य रहेको उल्लेख गर्दै मन्त्री वाग्लेले सुशासनमा कमजोरी भए नेपाल सोमालिया र हाइटीजस्ता मुलुकको अवस्थातर्फ धकेलिन सक्ने जोखिम रहेको बताए।
उनले नेपाल खैरोसूचीमा पर्नुको मुख्य कारण कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्नु रहेको उल्लेख गर्दै वर्तमान सरकार सुशासन र वित्तीय पारदर्शिता सुदृढ बनाउन प्रतिबद्ध रहेको दाबी गरे।