सारांश
काठमाडौं । नेकपा एकीकृत समाजवादीले भावी राष्ट्रपति आफ्नो पार्टीलाई पार्न पहलकदमी अघि बढाउने निर्णय लिएको छ ।
आज बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटबारे ब्रिफिङ गरेका थिए । उनले बाहिर आएजस्तो ओलीले आफूलाई सोझै राष्ट्रपति अफर नगरेको बताए ।
राष्ट्रपतिमा को व्यक्तिलाई अघि सार्ने भन्ने चाहिँ बैठकले निर्णय लिएको छैन । नेकपा एसका सम्मानित नेता झलनाथ खनाल पनि राष्ट्रपतिका आकांक्षी हुन् । पार्टीका एक नेताले नेपाल र झलनाथमध्ये एकजनालाई उम्मेदवार बनाउने आन्तरिक समझदारी रहेको बताए ।