सारांश
काठमाडौं । कलाकार तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ। काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालका वरिष्ठ न्युरोसर्जन डा. वसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले उनको मस्तिष्कमा रहेको ट्युमरको सफल शल्यक्रिया गरेको हो।
अस्पताल स्रोतका अनुसार शल्यक्रिया सफल भएको छ र हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। केही दिनअघि अस्पतालमा भर्ना गरिएकी निरौलालाई हाल आईसीयूबाट जनरल वार्डमा सारिएको छ र चिकित्सकको निगरानीमा उपचार भइरहेको छ।
अस्पतालले शल्यक्रियाका क्रममा निकालिएको ट्युमर कस्तो प्रकृतिको हो भन्ने यकिन गर्न प्रयोगशालामा परीक्षणका लागि पठाइएको जनाएको छ। परीक्षण प्रतिवेदन आएपछि ट्युमरको प्रकृति र आवश्यक थप उपचारबारे निर्णय गरिनेछ।
यसैबीच, कलाकार दीपकराज गिरी ले सामाजिक सञ्जालमार्फत दीपाश्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै यो साता आफ्नो टोलीका लागि निकै चुनौतीपूर्ण र कठिन रहेको बताएका छन्। उनले चलचित्रको सुटिङकै क्रममा दीपाश्रीलाई ब्रेन ट्युमर भएको थाहा पाएपछि तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको उल्लेख गरेका छन्।
उनका अनुसार धेरैले उपचारका लागि भारत जान सुझाव दिए पनि अन्ततः नेपालमै डा. वसन्त पन्तको नेतृत्वमा शल्यक्रिया गर्ने निर्णय गरिएको थियो। भगवानको कृपाले शल्यक्रिया सफल भएको र दीपाश्री अहिले जनरल वार्डमा स्वास्थ्यलाभ गरिरहेकी उनले बताएका छन्।