सारांश
काठमाडौं । मिस सुप्रानेशनल नेपाल २०२६ की विजेता पूर्णिमा कार्की हाल पोल्याण्डमा जारी विश्व प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस सुप्रानेशनल २०२६ मा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा सहभागी छिन्। प्रतियोगिता पोल्याण्डको मालोपोल्स्का क्षेत्रमा भइरहेको छ भने यसको ग्रान्ड फिनाले जुलाई ३१ मा आयोजना हुनेछ।
कानुन विषयमा स्नातक पूर्णिमा सौन्दर्य प्रतियोगिताकी विजेता मात्र नभई शिक्षा, महिला सशक्तीकरण, सामाजिक उत्तरदायित्व तथा नेपालको संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय युवा व्यक्तित्वका रूपमा परिचित छिन्। मिस सुप्रानेशनल नेपाल २०२६ को उपाधि जितेसँगै उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान, संस्कृति र नेपाली महिलाको क्षमता प्रस्तुत गर्ने अवसर प्राप्त गरेकी हुन्।
प्रतियोगिताको क्रममा उनी राष्ट्रिय पोशाक प्रस्तुति, ‘सुप्रा च्याट’, प्रारम्भिक मूल्याङ्कन तथा विभिन्न प्रतिस्पर्धात्मक चरणमा सहभागिता जनाइरहेकी छन्। प्रतियोगितामार्फत उनले नेपालको सांस्कृतिक विविधता, प्राकृतिक सम्पदा र नेपाली महिलाको आत्मविश्वासलाई विश्वसामु प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
प्रतियोगितामा सहभागी हुनुअघि पूर्णिमाले यो यात्रा व्यक्तिगत उपलब्धिभन्दा पनि सम्पूर्ण नेपालीको साझा सपना र राष्ट्रिय गौरवको विषय भएको बताएकी थिइन्।
“नेपालको झण्डा बोकेर विश्वमञ्चमा उभिन पाउनु मेरा लागि ठूलो सम्मान र जिम्मेवारी हो। यो मेरो मात्र यात्रा होइन, सम्पूर्ण नेपालीको यात्रा हो। म आफ्नो सम्पूर्ण क्षमता र समर्पणका साथ नेपाललाई उत्कृष्ट रूपमा चिनाउने प्रयास गर्नेछु,” उनले भनेकी थिइन्।
यसैबीच, मिस सुप्रानेशनल नेपालका राष्ट्रिय निर्देशक तथा सानुर्भी इन्टरनेशनल प्रालिका अध्यक्ष डा. सन्तोष उपाध्याय ले पूर्णिमा कार्कीले यस वर्ष नेपाललाई अहिलेसम्मकै उत्कृष्ट नतिजा दिलाउने विश्वास व्यक्त गरेका छन्।
उनका अनुसार पूर्णिमामा आत्मविश्वास, नेतृत्व क्षमता, बौद्धिकता, सामाजिक उत्तरदायित्व र अन्तर्राष्ट्रिय मञ्चमा प्रभावशाली प्रस्तुति दिन सक्ने गुण भएकाले उनले नेपाललाई उत्कृष्ट ढंगले प्रतिनिधित्व गर्नेछन्।
डा. उपाध्याय स्वयं मिस्टर सुप्रानेशनल २०२१ मा नेपालको प्रतिनिधित्व गर्दै तेस्रो रनरअप बन्न सफल भएका थिए। सोही अनुभवका आधारमा उनले पूर्णिमाको तयारी, प्रशिक्षण तथा अन्तर्राष्ट्रिय अभियानको नेतृत्व गरिरहेका छन्।
विश्वका प्रतिष्ठित सौन्दर्य प्रतियोगितामध्ये एक मानिने मिस सुप्रानेशनल २०२६ को ग्रान्ड फिनाले जुलाई ३१ मा पोल्याण्डमा हुनेछ। प्रतियोगितामा विश्वभरका प्रतिस्पर्धीहरूले व्यक्तित्व, नेतृत्व क्षमता, सामाजिक प्रभाव, संस्कृति र आत्मविश्वासका आधारमा प्रतिस्पर्धा गर्नेछन्।
नेपालले यसअघि मिस्टर सुप्रानेशनलमा ऐतिहासिक सफलता हासिल गरिसकेको छ भने यस वर्ष पूर्णिमा कार्कीले मिस सुप्रानेशनलमा नयाँ इतिहास रच्ने अपेक्षा गरिएको छ।