काठमाडौं । भारतीय अभिनेता सलमान खानको हालै सार्वजनिक भएको नयाँ लुकले उनका फ्यानहरूलाई चिन्तित बनाएको छ। सामाजिक सञ्जालमा भाइरल तस्बिर र भिडियोमा उनी पहिलेको तुलनामा निकै दुब्लो र उमेर ढल्किएको जस्तो देखिएका छन्।
उनको यो परिवर्तनको कारणबारे विभिन्न अड्कलबाजी भइरहेका छन्। केहीले स्वास्थ्य समस्या भएको हुनसक्ने अनुमान गरेका छन् भने केहीले नयाँ फिल्मका लागि तयार गरिएको ‘लुक’ हुनसक्ने बताएका छन्।
भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल एक्समा प्रतिक्रियाको ओइरो लागेको छ। कतिपयले उनले आफ्नो स्वास्थ्यमा पर्याप्त ध्यान नदिएको टिप्पणी गरेका छन् भने केहीले यो सामान्य उमेरको प्रभाव भएको बताएका छन्।
यसबीच सलमानले सामाजिक सञ्जालमा ‘तपाईंहरूको स्वास्थ्य कस्तो छ ?’ भन्ने छोटो पोस्ट गरेका छन्। धेरैले यसलाई उनको स्वास्थ्यबारे फैलिएको चर्चाप्रतिको अप्रत्यक्ष प्रतिक्रिया मानेका छन्। यद्यपि उनले आफ्नो अवस्थाबारे औपचारिक रूपमा कुनै टिप्पणी गरेका छैनन्।