बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ संक्रमण छैन
सारांश
काठमाडौं । देशभर फैलिएको बर्डफ्लु संक्रमण अहिले नियन्त्रणउन्मुख भएको छ। पशु सेवा विभागका अनुसार साउन १ गतेयता नयाँ संक्रमण पुष्टि भएको छैन।
पछिल्लो पटक काठमाडौंको गोकर्णेश्वर–१ सुन्दरीजलमा संक्रमण देखिएपछि प्रभावित क्षेत्रका नमुना परीक्षण जारी रहे पनि हाल अवस्था नियन्त्रणमा रहेको विभागका महानिर्देशक डा. उमेश दाहालले बताए।
यस वर्ष चैतदेखि सुरु भएको संक्रमण ११ जिल्लामा फैलिएको थियो। हाल काठमाडौं उपत्यका र काभ्रेबाहेक अन्य सात जिल्लामा रोग पूर्ण रूपमा नियन्त्रणमा आएको विभागको भनाइ छ।
संक्रमण नियन्त्रणका क्रममा देशभर ८ लाख ३५ हजारभन्दा बढी पन्छी र ११ लाख ६५ हजारभन्दा बढी अण्डा नष्ट गरिएको छ। प्रभावित किसानलाई हालसम्म ५० करोड ७१ लाख रुपैयाँभन्दा बढी राहत वितरण गरिएको छ।
संक्रमण घटेसँगै कुखुराको मासु र अण्डाको खपत बढ्न थालेको छ भने बजार मूल्य पनि सुधार हुँदै गएको विभागले जनाएको छ।