दसैँ–तिहारपछि कलंकी–बसुन्धारा चक्रपथ विस्तार सुरु हुने
सारांश
काठमाडौं । चक्रपथ सुधार योजनाअन्तर्गत दोस्रो चरणको कलंकी–बसुन्धारा (८.२ किमि) खण्डको निर्माण कार्य दसैँ–तिहारपछि सुरु हुने तयारी भएको छ। अन्तिम डिजाइन स्वीकृतिपछि चिनियाँ पक्षले चीनमै टेन्डर प्रक्रिया पूरा गरेर निर्माण अघि बढाउने योजना रहेको आयोजना प्रमुख आशिका पोखरेलले बताइन्।
उनका अनुसार मुख्य एक्सप्रेस–वेबाहेकको सर्भिस लेन निर्माण नेपाली स्रोतबाट भइरहेको छ, जसको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ। केही स्थानमा कालोपत्रे गर्न मात्र बाँकी रहेको छ।
चिनियाँ पक्षले प्रारम्भिक डिजाइन बुझाइसकेको र नेपालले आवश्यक सुझाव दिइसकेकाले अहिले अन्तिम डिजाइनको तयारी भइरहेको छ। साइट क्लियरेन्स, संरचना हटाउने प्रक्रिया र कोभिड–१९ महामारीका कारण परियोजना केही वर्ष ढिलाइ भए पनि अब आवश्यक प्रक्रिया अन्तिम चरणमा पुगेकाले मनसुन र चाडपर्वपछि निर्माणले गति लिने अपेक्षा गरिएको छ।