सारांश
काठमाडौँ । अभिनेता राजेश हमालले देशको वर्तमान शासन शैलीप्रति असन्तुष्टि जनाउँदै दूरदृष्टि र दीर्घकालीन योजनाको अभावले मुलुकलाई संकटतर्फ धकेल्न सक्ने चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै हमालले देशको शासन व्यवस्था ‘अन्दाज र परीक्षण’ (हिट एन्ड मिस) को भरमा सञ्चालन भइरहेको जस्तो देखिएको टिप्पणी गरेका हुन्।
उनले कुनै पनि राष्ट्रको भविष्य भाग्य वा संयोगले नभई स्पष्ट दृष्टिकोण, तथ्यमा आधारित निर्णय र दीर्घकालीन रणनीतिले निर्धारण हुने उल्लेख गरेका छन्। केवल तत्काल देखिएका समस्याको समाधानमै सीमित रहने प्रवृत्तिले देशको समग्र विकासलाई अवरुद्ध पार्न सक्ने उनको भनाइ छ।
हमालले लेखेका छन्, ‘देशको शासन प्रणाली नै ‘हिट एन्ड मिस’ अर्थात् अन्दाज र परीक्षणको भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो? कुनै राष्ट्रको भविष्य संयोगमा होइन, दूरदृष्टि, तथ्यमा आधारित निर्णय र दीर्घकालीन रणनीतिमा निर्माण हुनुपर्छ।’
उनले थपेका छन्, ‘यदि आगामी ५, १० वा २० वर्षमा देशलाई कहाँ पुर्याउने भन्ने स्पष्ट योजना र यथार्थपरक पूर्वानुमानबिनै केवल दैनिक व्यवस्थापनका समस्यामै अल्झिरहने हो भने, तीव्र गतिमा बदलिँदो विश्वमा मुलुक प्रगतिभन्दा पनि ठहराव र पछौटेतर्फ जान सक्छ।’