१८ दिनपछि अस्पतालबाट डिस्चार्ज भइन् दीपाश्री निरौला
सारांश
काठमाडौं । निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला १८ दिनको उपचारपछि बिहीबार अस्पतालबाट डिस्चार्ज भएकी छन्।
मस्तिष्कमा देखिएको ट्युमरको सफल शल्यक्रियापछि अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत रहेकी उनको स्वास्थ्यमा उल्लेखनीय सुधार आएपछि चिकित्सकले घर फर्किन अनुमति दिएका हुन्।
यसअघि अस्पतालले दीपाश्रीको मस्तिष्कमा रहेको ट्युमर सफलतापूर्वक पूर्ण रूपमा हटाइएको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको थियो।
अभिनेता तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत दीपाश्री अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका छन्। उनले अस्पतालबाट बाहिरिने क्रममा दीपाश्रीले ४० वर्ष उमेर पार गरेका सबैलाई एकपटक मस्तिष्कको स्वास्थ्य परीक्षण गराउन आग्रह गरेको उल्लेख गरेका छन्।
दीपाश्रीले आफ्नो उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, अस्पताल परिवार तथा स्वास्थ्य लाभको कामना गर्ने सबै शुभेच्छुकप्रति आभार व्यक्त गरेकी छन्।
उनी फिल्म ‘छ माया छपक्कै २’ को छायांकनका क्रममा अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी थिइन्। त्यसपछि गरिएको परीक्षणमा मस्तिष्कमा ट्युमर पुष्टि भएपछि उनको सफल शल्यक्रिया गरिएको थियो।