सारांश
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व उपाध्यक्ष रवीन्द्र मिश्रले भैंसेपाटीस्थित मन्त्री निवासलाई ‘पापी निवास’को संज्ञा दिँदै त्यसलाई मन्त्री आवासका रूपमा होइन, बालआश्रय गृहका रूपमा प्रयोग गर्नुपर्ने प्रस्ताव गरेका छन्। अहिलेका मन्त्रीहरू त्यहाँ बस्न गए ‘पाप लाग्ने’ उनको टिप्पणी छ।
सुदूरपश्चिमको दुर्गम क्षेत्रमा स्थानीयले वर्षाका बीच जोखिमपूर्ण भिरको बाटो हुँदै शव बोकेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै मिश्रले राज्यको प्राथमिकतामाथि प्रश्न उठाएका हुन्।
मिश्रले साझा गरेको भिडियोमा लगातार पानी परिरहेका बेला केही व्यक्तिहरू साँघुरो र चिप्लो भिरालो बाटोबाट पालले छोपिएको शव बोकेर हिँडिरहेको देखिन्छ। उनले यो दृश्य कुनै अपवाद नभई राजधानीका शासकहरूले बेवास्ता गरेको नेपालको यथार्थ चित्र भएको बताएका छन्।
उनले लेखेका छन्, ‘एकातिर नागरिकहरू ज्यान जोखिममा राखेर शव बोक्न बाध्य छन् भने अर्कोतिर भैंसेपाटीमा करिब ३ अर्ब रुपैयाँ खर्चेर मन्त्री निवास बनाइएको छ। अहिले फेरि त्यसैमा ४० करोड रुपैयाँ खर्च गरेर पुनः निर्माण गरिँदै छ।’
देशको यस्तो अवस्था हुँदाहुँदै मन्त्रीहरू विलासी भवनमा बस्नु नैतिक रूपमा उचित नहुने मिश्रको भनाइ छ। ‘यस्तो परिस्थितिमा पनि मन्त्रीहरू त्यही भवनमा बस्न गए भने अघिल्ला शासकहरूलाई जस्तै उनीहरूलाई पनि पाप लागोस्,’ उनले टिप्पणी गरेका छन्।
मिश्रले भैंसेपाटीको आलिसान मन्त्री निवासलाई दक्षिण एसियाकै नमुना बालआश्रय गृहमा रूपान्तरण गर्न सुझाव दिएका छन्। मन्त्रीहरूका लागि भने एउटै अपार्टमेन्ट भवन निर्माण गरी छुट्टाछुट्टै तलामा बस्ने व्यवस्था मिलाउँदा सुरक्षा, खर्च व्यवस्थापन र प्रशासनिक दृष्टिले समेत प्रभावकारी हुने तथा जनतामा सकारात्मक सन्देश जाने उनको तर्क छ।