Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

एकपटकको नेपाली, सधैँको नेपाली हौँ : अर्थमन्त्री


सारांश

एकपटकको नेपाली, सधैँको नेपाली हौँ : अर्थमन्त्री
images

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा रहेका नेपालीलाई सरकारको ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने नीतिमा विश्वस्त रहँदै नेपालको विकास र लगानी अभियानमा सहभागी हुन आग्रह गरेका छन्।

शनिबार अस्ट्रेलियास्थित नेपाली युवा उद्यमीहरूले आयोजना गरेको सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै उनले प्रवासी नेपालीहरू नेपालका विकास र लगानीका महत्त्वपूर्ण साझेदार तथा सद्भावना दूत भएको बताए।

उनले नयाँ सरकारले सुशासनलाई संस्थागत गर्दै आर्थिक सुधारलाई तीव्रता दिएको उल्लेख गर्दै भ्रष्टाचारमा शून्य सहनशीलता, नेतृत्वमा उच्च नैतिकता र योग्यता आधारित प्रणालीमार्फत अर्थतन्त्रलाई नयाँ दिशामा अघि बढाइएको दाबी गरे।

अर्थमन्त्री वाग्लेले बजेटमार्फत कर, राजस्व, बजेट वितरण र लगानीमैत्री नीतिमा सुधार गरिएको उल्लेख गर्दै विदेशमा रहेका नेपालीलाई स्वदेशमा लगानी विस्तार गर्न आह्वान गरे। नेपालमा गरिएको लगानीको प्रतिफल सहज रूपमा फिर्ता लैजान सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

उनका अनुसार एनआरएनए बन्ड, अफसोर बन्ड तथा वैकल्पिक वित्त परिचालनजस्ता कार्यक्रम प्रवासी नेपालीको लगानी आकर्षित गर्ने उद्देश्यले अघि सारिएका हुन्। यस्ता नीतिमार्फत सरकारले निजी तथा विदेशी लगानीलाई प्रोत्साहन गर्दै अर्थतन्त्रको पुनरुत्थानमा गति दिन खोजेको उनले बताए।

सरकारले लगानी वातावरण थप सहज बनाउन आवश्यक सुझाव खुला रूपमा दिन पनि उनले प्रवासी नेपाली समुदायलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij