Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

राजेश हमाल बने कर्णाली शिवराजको ब्रान्ड एम्बेसडर


सारांश

राजेश हमाल बने कर्णाली शिवराजको ब्रान्ड एम्बेसडर
images

काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) अन्तर्गतको टोली कर्णाली शिवराजले अभिनेता राजेश हमाललाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत हमाललाई ब्रान्ड एम्बेसडरका रूपमा सार्वजनिक गरिएको हो। कार्यक्रममा हमालले नेपालको राष्ट्रिय खेल भलिबलसँग जोडिन पाउँदा आफू अत्यन्त खुसी र गौरवान्वित भएको बताए।

कर्णाली शिवराजका सन्तोष उपाध्यायले टोलीलाई केवल खेलमा प्रतिस्पर्धा गर्ने क्लबका रूपमा नभई कर्णालीको पहिचान, प्रतिभा, संस्कृति र सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अभियानका रूपमा अघि बढाइएको बताए। उनले महानायक राजेश हमालको साथले टोलीलाई थप ऊर्जा र प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

उपाध्यायले सामाजिक सञ्जालमार्फत पनि हमाललाई ब्रान्ड एम्बेसडरका रूपमा स्वागत गर्दै लेखेका छन्, "महानायक राजेश हमाललाई ब्रान्ड एम्बेसडरका रूपमा पाउनु कर्णाली शिवराज परिवारका लागि गौरवको विषय हो।"

क्लबले सोही कार्यक्रममा मिक्स्ड मार्सल आर्ट्स (एमएमए) खेलाडी रविन्द्र ढाँटलाई ‘फेस अफ कर्णाली’ घोषणा गरेको छ। त्यस्तै, नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य तथा क्लबकी मार्की खेलाडी सुमित्रा रेग्मीलाई **‘ग्लोरी अफ कर्णाली’**का रूपमा सार्वजनिक गरिएको छ।

यस्तै, कर्णाली प्रदेशका राष्ट्रिय टोलीका खेलाडी प्रगति नाथ र कामना बिष्टलाई **‘क्विन अफ कर्णाली’**को भूमिकामा प्रस्तुत गरिएको छ।

कार्यक्रममा क्लबले आफ्नो आधिकारिक थिम गीतसमेत सार्वजनिक गरेको छ। सुरेश अधिकारीको रचना तथा संगीत रहेको गीतमा कृष्ण विकले स्वर दिएका छन्।

यसैगरी, अनुभवी प्रशिक्षक जगदीश भट्टलाई टोलीको मेन्टरका रूपमा नियुक्त गरिएको कर्णाली शिवराजले जनाएको छ।

 
 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij