सारांश
पशुपतिनाथ मन्दिरमा बिहानैदेखि श्रद्धालुको आगमन बढे पनि दर्शन सहज बनाउन विशेष व्यवस्थापन गरिएकाले लामो प्रतीक्षा गर्नुपर्ने अवस्था नरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। कोषका अनुसार मन्दिर प्रवेशका लागि चार वटा लामको व्यवस्था गरिएको छ भने दर्शनार्थीलाई सहज रूपमा पूजा–दर्शन गराउने तयारी गरिएको छ।
कोषका सदस्य सचिव तीर्थ श्रेष्ठका अनुसार साउनका सोमबार मन्दिरमा आउने लाखौँ भक्तजनलाई सुरक्षित, व्यवस्थित र मर्यादित वातावरणमा दर्शन गराउन आवश्यक सबै प्रबन्ध मिलाइएको छ। प्राथमिक उपचार, खानेपानी, सरसफाइ तथा अन्य अत्यावश्यक सेवासमेत उपलब्ध गराइएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा विभिन्न संस्थाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन्।
कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले आज मन्दिर आउने सबै भक्तजनले सहज रूपमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको जानकारी दिए।
पशुपतिनाथसँगै काठमाडौंका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित मक्खन महादेवलगायत राजधानीका प्रमुख शिव मन्दिरमा पनि बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ। यस्तै, देशका विभिन्न जिल्लाका शिवालयमा पनि भक्तजन पूजा, आराधना र दर्शनका लागि पुगेका छन्।
धार्मिक परम्पराअनुसार पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजा हुने भएकाले यी दुई मन्दिरमा दर्शन गर्नुलाई विशेष महत्वका साथ हेरिने विश्वास रहँदै आएको छ।