काठमाडौं । आषाढ शुक्ल पूर्णिमाको पावन अवसरमा आज देशभर गुरु पूर्णिमा श्रद्धा, सम्मान र भक्तिभावका साथ मनाइँदैछ। ज्ञान, संस्कार र जीवनको सही मार्ग देखाउने गुरुजनप्रति कृतज्ञता व्यक्त गर्दै शिष्यहरूले आशीर्वाद लिने परम्परा यस पर्वको विशेषता हो।
सनातन दर्शनमा ‘गु’ को अर्थ अज्ञान वा अन्धकार र ‘रु’ को अर्थ ज्ञानको प्रकाश मानिन्छ। अज्ञानरूपी अन्धकार हटाई सत्य, ज्ञान र सद्मार्गतर्फ डोर्याउने व्यक्तित्वलाई गुरु भनिएको धर्मशास्त्र तथा तन्त्रशास्त्रमा उल्लेख छ।
मानव जीवनलाई उज्यालोतर्फ अग्रसर गराउने गुरुको स्थान अत्यन्त उच्च मानिन्छ। शास्त्रहरूमा गुरुलाई साक्षात् ब्रह्मा, विष्णु र महेश्वरकै स्वरूपका रूपमा व्याख्या गरिएको छ। त्यसैले प्राचीनकालदेखि नै यो प्रसिद्ध श्लोक श्रद्धापूर्वक उच्चारण गर्ने परम्परा रहिआएको छ–
गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः ।।