Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

अस्पतालका सबै सेवा सुचारु, सरकारसँग सहमति भएपछि चिकित्सकको आन्दोलन टुंगियो


सारांश

अस्पतालका सबै सेवा सुचारु, सरकारसँग सहमति भएपछि चिकित्सकको आन्दोलन टुंगियो
images

काठमाडौं । नेपाल चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएपछि देशभरका अस्पतालमा आजदेखि नियमित स्वास्थ्य सेवा पुनः सञ्चालनमा आएको छ। आन्दोलनका कारण प्रभावित भएका बहिरङ्ग (ओपीडी) लगायतका सेवा पुनः सुचारु भएसँगै बिरामीले नियमित उपचार पाउन थालेका छन्।

बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि र आन्दोलनरत नेपाल चिकित्सक संघबीच भएको वार्तामा पाँचबुँदे सहमति भएपछि आन्दोलन अन्त्य भएको हो। सहमतिपछि संघले जारी गरेका सबै आन्दोलनका कार्यक्रम तत्कालका लागि फिर्ता लिने निर्णय गरेको थियो।

यससँगै सरकारी तथा निजी अस्पतालमा आकस्मिक सेवाबाहेक स्थगित गरिएका अन्य सबै स्वास्थ्य सेवा आजदेखि नियमित रूपमा सञ्चालनमा आएका छन्। अस्पतालहरूले पनि बिरामीलाई पूर्ववत् रूपमा सेवा दिन थालेका छन्।

वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमण, अस्पतालमा भएको तोडफोड तथा चिकित्सकको सुरक्षाप्रति देखिएको चिन्ताका कारण नेपाल चिकित्सक संघ आन्दोलनमा उत्रिएको थियो। दोषीमाथि कानुनी कारबाही र चिकित्सकको सुरक्षाको सुनिश्चितता गर्न माग गर्दै संघले देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो।

संघको आह्वानमा मंगलबार र बुधबार देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका अधिकांश स्वास्थ्य सेवा प्रभावित भएका थिए। सरकारसँग सहमति भएपछि आन्दोलन स्थगित भएसँगै स्वास्थ्य सेवा पुनः सहज रूपमा सञ्चालनमा आएको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij