सारांश
काठमाडौँ। अमेरिकाले पर्यटक (बी–२) र व्यवसायिक (बी–१) भिसाका लागि लागू गरिएको भिसा बन्ड कार्यक्रम स्थायी बनाएको छ।
शुक्रबार अमेरिकी फेडरल रजिस्टरमा प्रकाशित सूचनाअनुसार सोमबारदेखि लागू हुने नयाँ व्यवस्थाअनुसार नेपाल, बंगलादेश र भुटानसहित ५० देशका नागरिकले भिसा आवेदनअघि १० हजार वा २० हजार अमेरिकी डलरसम्म (करिब ३० लाख रुपैयाँ) बन्ड राख्नुपर्नेछ।
यसअघि परीक्षण कार्यक्रमअन्तर्गत ५ हजार, १० हजार र १५ हजार डलरसम्म बन्ड राख्ने व्यवस्था थियो। अब ५ हजार डलरको विकल्प हटाइएको छ भने अधिकतम बन्ड रकम २० हजार डलर पुर्याइएको छ। भिसा अस्वीकृत भए वा अमेरिका पुगेपछि भिसाका सबै सर्त पालना गरेमा बन्ड रकम फिर्ता हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
ट्रम्प प्रशासनले अवैध आप्रवासन नियन्त्रण गर्ने उद्देश्यले सुरु गरेको यो कार्यक्रम प्रभावकारी देखिएकाले स्थायी बनाइएको अमेरिकी दाबी छ। मन्त्रालयका अनुसार कार्यक्रम लागू भएपछि भिसा अवधि नाघेर बस्ने घटनामा उल्लेख्य कमी आएको छ। नयाँ व्यवस्थाले नेपालसहित सूचीमा रहेका ५० देशका पर्यटक, व्यवसायी तथा अमेरिका भ्रमणको योजना बनाएका नागरिकमाथि अतिरिक्त आर्थिक भार पर्ने अपेक्षा गरिएको छ।