सारांश
काठमाडौं । मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई क्षेत्र नजिक सक्रिय रहेकाले आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसमविदहरूले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागका मौसमविद हरिप्रसाद दाहालका अनुसार मनसुनी वायुको प्रभाव कायम रहेकाले देशभर आंशिकदेखि सामान्य बदली रहने र धेरै स्थानमा वर्षा हुने सम्भावना छ।
उनका अनुसार हाल बागमती र गण्डकी प्रदेशका अधिकांश क्षेत्रमा मध्यम वर्षा भइरहेको छ भने दिउँसोपछि पनि धेरै स्थानमा वर्षा जारी रहने अनुमान गरिएको छ। विशेषगरी पहाडी क्षेत्रमा केही स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज बागमती र गण्डकी प्रदेशका तराईका अधिकांश स्थान, मधेश प्रदेश तथा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा भारी वर्षा हुने र गण्डकी तथा बागमतीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
काठमाडौं उपत्यकामा पनि दिनभर वर्षाको क्रम जारी रहने सम्भावना रहेको मौसमविद दाहालले बताए। केही समय पानी रोकिएजस्तो देखिए पनि पुनः वर्षा हुन सक्ने उनको भनाइ छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागको मौसम बुलेटिनमा उल्लेख छ।
विभागले भारी वर्षा हुन सक्ने क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव तथा भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।