काठमाडौं । सरकारले घरायसी विद्युत् उपभोक्तालाई राहत दिने उद्देश्यले ५ प्रतिशत भ्याट लाग्ने विद्युत् खपतको सीमा ५० युनिटबाट बढाएर १५० युनिट पुर्याउने तयारी गरेको छ।
चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ५० युनिटभन्दा बढी विद्युत् खपतमा ५ प्रतिशत भ्याट लगाउने व्यवस्था गरिएको भए पनि अहिले उक्त सीमा बढाउने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयबीच प्रारम्भिक छलफल भइरहेको छ।
ऊर्जा मन्त्रालयका अनुसार १५० युनिटसम्म भ्याट छुट दिँदा अधिकांश घरायसी उपभोक्ताले राहत पाउनेछन्। प्रारम्भिक अध्ययनले भने यस्तो व्यवस्था लागू भए वार्षिक करिब २ अर्ब २ करोड रुपैयाँ भ्याट राजस्व घट्ने देखाएको छ।
हाल देशभरका करिब ५३ लाख घरेलु उपभोक्तामध्ये ५० युनिटसम्म मात्रै भ्याट छुट छ। प्रस्तावित व्यवस्था लागू भए ४६ लाखभन्दा बढी उपभोक्ता भ्याटमुक्त हुनेछन् भने कर तिर्ने उपभोक्ताको संख्या उल्लेख्य रूपमा घट्नेछ।
यसअघि १ साउनदेखि ५० युनिटभन्दा बढी खपतमा भ्याट लागू गर्ने निर्णयपछि व्यापक विरोध भएको थियो। त्यसपछि प्राधिकरणले साउन महिनाको खपतमा मात्रै भ्याट लागू हुने स्पष्ट पारेको थियो।