सारांश
काठमाडौं । हिन्दी, तेलुगु, तमिल तथा नेपाली चलचित्रमा चार दशकभन्दा बढी समय अभिनय गरेका वरिष्ठ अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनको निधनको जानकारी अभिनेता यशपाल शर्माले सामाजिक सञ्जालमार्फत दिएका हुन्। उनले ‘गजिनी’का देवा र ‘लगान’का अविस्मरणीय कलाकारलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
रावतका प्रबन्धक सिद्धार्थ तिवारीका अनुसार उनी लामो समयदेखि क्यान्सरसँग संघर्षरत थिए। स्वास्थ्यमा केही सुधार देखिए पनि रोग पुनः बल्झिएपछि एक महिनाभन्दा बढी समय अस्पतालमा उपचार गराइरहेका थिए। उपचारकै क्रममा उनको निधन भएको हो।
टेलिभिजन श्रृंखला ‘महाभारत’ मा अश्वत्थामाको भूमिकाबाट चर्चा कमाएका रावतले त्यसपछि ‘लगान’, ‘गजिनी’, ‘राउडी राठौर’, ‘साइ’ लगायतका सफल चलचित्रमा सशक्त खलनायकको भूमिका निभाएका थिए।
उनले नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ मार्फत नेपाली फिल्म उद्योगमा डेब्यु गरेका थिए भने ‘आ बाट आमा’ मा पनि अभिनय गरेका थिए। उनको निधनप्रति नेपाली कलाकारहरूले समेत श्रद्धाञ्जली व्यक्त गरेका छन्।