सारांश
काठमाडौँ । नेपाली खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेका बक्सिङका चन्द्रबहादुर थापा मगर र करातेकी एरिका गुरुङ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८२ को वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन्।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाडौंमा आयोजना गरेको २३औँ संस्करणको पल्सर स्पोर्टस् अवार्डमा चन्द्रबहादुरलाई वर्ष उत्कृष्ट पुरुष तथा एरिकालाई वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड प्रदान गरिएको हो।
दुबईमा भएको आइबा पुरुष विश्व च्याम्पियनसिपमा कास्य पदक जित्दै चन्द्रबहादुरले नेपाली बक्सिङमा ऐतिहासिक उपलब्धि हासिल गरेका थिए। उनी विश्व बक्सिङ च्याम्पियनसिपमा पदक जित्ने पहिलो नेपाली बक्सर हुन्।
यता, करातेकी एरिकाले लगातार तेस्रोपटक वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड हात पारेकी छन्। उनले पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण, रजत तथा कास्य पदक जित्दै आएकी छन्।
समारोहमा करातेकी मनिषाकुमारी बोहरा वर्ष उत्कृष्ट युवा खेलाडी घोषित भइन्। कराते प्रशिक्षक कुशल श्रेष्ठले उत्कृष्ट प्रशिक्षकको अवार्ड प्राप्त गरे। श्रेष्ठले पनि लगातार तेस्रोपटक उत्कृष्ट प्रशिक्षकको सम्मान हात पारेका हुन्।
त्यस्तै, भलिबलकी मीना सुनारले पिपल्स च्वाइस अवार्ड जितिन्। उनले कुल मतमध्ये २९.४ प्रतिशत मत प्राप्त गरेकी थिइन्।
समारोहमा पारा एथलिटतर्फ सुष्मा तामाङ, स्पेसल अवार्डबाट ध्रुवविक्रम मल्ल तथा लाइफटाइम एचिभमेन्ट अवार्डबाट पूर्वब्याडमिन्टन खेलाडी मोहनबहादुर शाही सम्मानित भए। एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड भने भारतकी सबा नायकनले प्राप्त गरिन्।
अवार्डका पाँच मुख्य विधाका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिएको छ भने अन्य सम्मानित खेलाडी तथा व्यक्तित्वलाई जनही एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।