सारांश
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज सोमबार दुई रोमाञ्चक खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा चार टोली आमनेसामने हुन लागेका हुन्।
आजको पहिलो खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सको सामना गर्नेछ भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्नेछन्।
पहिलो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ भने दोस्रो खेल साँझ ५ बजे हुनेछ।
लगातार दुई हारको सामना गरेको काठमाडौं आज पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ। यसअघि काठमाडौं जनकपुर बोल्ट्ससँग पराजित भएको थियो। यता दुई खेलमा शतप्रतिशत जित निकालेको कर्णाली लगातार तेस्रो जितसहित आफ्नो शीर्ष स्थान कायम राख्न चाहन्छ। कर्णालीले यसअघि जनकपुर र विराटनगरलाई हराएको थियो।
आजको अर्को खेलमा सुदूरपश्चिम रोयल्स जितको दबाबमा हुनेछ। तीन खेल खेलेको सुदूरपश्चिमले एकमा जित र दुईमा हार बेहोरेको छ।
अर्कोतर्फ, चितवन राइनोज भने अपराजित यात्रा कायम राख्ने दाउमा छ। पहिलो खेल जितेको चितवनको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका थिए।