सारांश
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारका राम्रा कामको श्रेय लिने तर गलत कामको जिम्मेवारीबाट पन्छिने गरेको आरोप लगाएका छन्।
आइतबार पत्रकार सम्मेलन गर्दै थापाले सञ्चारमाध्यममा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनामा रास्वपाले विज्ञप्तिमार्फत सरकारलाई निर्देशन दिए पनि त्यसको जिम्मेवारी लिन नसकेको बताएका हुन्।
उनले सरकारका राम्रा कामको जस रास्वपाले लिने तर प्रश्न उठ्दा प्रधानमन्त्रीलाई देखाएर उम्किन नमिल्ने बताए। विगतमा कांग्रेस सहभागी सरकारका गलत कामको जिम्मेवारी कांग्रेसले लिनुपर्ने भन्दै प्रश्न उठाउने रास्वपाले अहिले पनि त्यही सिद्धान्त लागू गर्नुपर्ने उनको भनाइ थियो।
थापाले पत्रकार पक्राउ प्रकरणलाई सामान्य घटना मानेर टुंग्याउन नहुने बताए। केही पत्रकार पक्राउ परेर छुट्दैमा राज्यको व्यवहार र नागरिक अधिकारमाथि उठेका प्रश्न समाप्त नहुने उनले उल्लेख गरे।
प्रहरी र प्रधानमन्त्रीको सचिवालयबाट आएका फरकफरक वक्तव्यले घटनालाई थप गम्भीर बनाएको थापाको भनाइ छ। उनका अनुसार सुरुमा साइबर सेलको आग्रहमा पक्राउ गरिएको भनिए पनि पछि प्रधानमन्त्री कार्यालयको चासो सम्बोधन गर्न पक्राउ गरिएको वक्तव्य आएको थियो। उक्त वक्तव्य शनिबार बिहान हटाइएको उनले बताए।
प्रधानमन्त्रीको सचिवालयबाट २८ जना पत्रकार पक्राउ गर्न प्रहरीलाई सूची पठाइएको भन्ने समाचारसमेत सार्वजनिक भएको उल्लेख गर्दै थापाले प्रहरीमाथि माथिल्लो तहबाट आदेश आएको हुन सक्ने आशंका व्यक्त गरे।
उनले राज्यका निकायलाई निजी आदेश पालना गर्ने कार्यालयका रूपमा प्रयोग गर्न खोजिएको भन्दै सरकारको कार्यशैलीप्रति आपत्ति जनाए। यस्तो प्रवृत्तिलाई सामान्यीकरण नगर्न उनले सञ्चारमाध्यम, नागरिक समाज र राजनीतिक दलहरूलाई आग्रह गरे।
यसअघि असार २९ गते केही सञ्चारगृहबाहिर अनधिकृत रूपमा सरकारी गाडी राखिएको घटनामा पनि रास्वपाले छानबिन र कारबाही गर्न निर्देशन दिएको तर त्यसको कार्यान्वयन नभएको थापाले स्मरण गराए।
थापाले रास्वपाको संसदीय दलको बैठक बोलाएर प्रधानमन्त्रीलाई समेत सहभागी गराउनुपर्ने माग गरे। विज्ञप्ति र निर्देशनमा सीमित नभई घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र ठोस परिणाम आउनुपर्ने उनको जोड थियो।