सारांश
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रीता थापामगर सर्वसम्मत निर्वाचित भएकी छन् । शुक्रबारदेखि धादिङबेँसीमा जारी प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन् । उनी प्रत्यक्ष दोहोरी गीतबाट चर्चामा छिन् ।
प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा र प्रथम उपाध्यक्षमा रामजी खाण सर्वसम्मत भएका छन् । साङ्गठनिक उपाध्यक्षमा सुवास केसी, प्रशासनिक उपाध्यक्षमा दीपक खड्का र महिला उपाध्यक्षमा राधिका हमाल पनि सर्वसम्मत निर्वाचित भएका छन् ।
सात जनाको खुला उपाध्यक्षमा उपाध्यक्षमा पुष्कल शर्मा, राजु ढकाल, चोलेन्द्र पौडेल, कृष्ण रेउले, खुमन अधिकारी, कुलेन्द्र विश्वकर्मा, पूर्णकला विसी, शङ्कर विसी र तारापति सुवेदीको उम्मेदवारी परेको छ । प्रतिष्ठानको महासचिवमा शिव हमाल सर्वसम्मत बनेका छन् । उपमहासचिवमा हरि डाँगी (प्रशासनिक) र शिरीष देवकोटा (साङ्गठनिक) र कोषाध्यक्षमा अमृत अधिकारी सर्वसम्मत चयनभएका छन्। त्यस्तै महिला सचिवमा जमुना राना सर्वसम्मत चयन भएकी छिन् ।
त्यस्तै सात प्रदेशमध्ये भूगोल सचिवमा पनि गण्डकी प्रदेशबाहेक सबै प्रदेशबाट आउने सचिव पदमा सर्वसम्मत भएको छ । गण्डकी प्रदेशबाट भने तीन जनाको खुला सचिव पदमा पनि पाँच र दुई जनाको तथा सहकोषाध्यक्ष (खुला) पदमा तीन जनाको उम्मेदवारी परेको छ । खुला उपाध्यक्ष, भूगोल सचिवतर्फ गण्डकी प्रदेश, खुला सचिव, खुला सहकोषाध्यक्ष पदबाहेक पदाधिकारी सर्वसम्मत निर्वाचित भएका छन् ।
सर्वसम्मत नभएका यी पदमा परेका उम्मेदवारी फिर्ता लिने समयसम्ममा पदाधिकारीको सबै पद सर्वसम्मत हुनसक्ने बताइएको छ ।
यो महाधिवेशनले ३५ जनाको पदाधिकारीसहित ७५ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।