सारांश
काठमाडौं । भारतीय अभिनेत्री सबाना आजमी काठमाडौंमा हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा विशेष अतिथि बनेर आउने भएकी छन् ।
मंसिर ९ गते हुने उद्घाटन समारोहमा उपस्थित हुने अभिनेत्री आजमीले भोलिपल्ट रंगमञ्च र अभिनयबारे मास्टर क्लास पनि सञ्चालन गर्ने भएकी छन् । मण्डला थिएटरले विज्ञप्ति जारी गर्दै विशेष अतिथिको रुपमा आजमी आउने जनाएको छ ।
मण्डला थिएटरमा मंसिर १७ सम्म आयोजना हुने महोत्सवमा देश–विदेशका २२ नाटकको सहभागिता हुनेछ। महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरू समावेश छन्।