सारांश
काठमाडौं । ‘उचाईं’ले नेपालमा अपत्यारिलो व्यापार गरिरहेको छ । नेपालमा ठूलो हिस्सा छायांकन भएको र नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै चर्चा हुन थालेपछि हलमा दर्शक ओइरिएका छन् । काठमाडौंका मल्टीप्लेक्सहरुमा हरेक दिन फिल्मले दर्शकको अभाव झेल्नु परेको छैन । दिउँसो र साँझका शोहरु हाउसफुल हुने गरेका छन् ।
नेपालको ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले दोस्रो हप्तामा पनि ‘उचाईं’लाई उल्लेख्य शो उपलब्ध गराएको छ र विहानैदेखि दिउँसो र साँझका शोहरु सोल्डआउटको चरणमा छन् । यसले पनि फिल्मप्रति नेपाली दर्शकको आकर्षण बढेको देखाउँछ । सिंगल स्क्रिनमा भने फिल्मको उपस्थिति कमजोर छ । हुन त विदेशी फिल्म नेपालका सिंगल स्क्रिनमा खासै चल्दैनन् ।
सुनिल मानन्धरको समुहले भारु ७५ लाख (नेपाली १ करोड १९ लाख) मा फिल्मको नेपाल प्रदर्शन अधिकार लिएको हो । दोस्रो हप्ताबाट फिल्मले आफूहरुलाई नाफा दिनेमा वितरक मानन्धर विश्वस्त छन् । उनले भने, ‘प्रत्येक दिन मल्टीप्लेक्सहरुमा ७५ देखि ८० प्रतिशतसम्म अकुपेन्सी छ । ‘वर्ड अफ माउथ’ उस्तै शक्तिशाली छ । त्यसैले फिल्मले नेपालमा लामो यात्रा गर्ने देखिएको छ ।’