सारांश
कतार / पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले लगातार पाँचौ विश्वकपमा गोल गर्ने उपलब्धि हासिल गर्न सकेकोमा आफूलाई गर्व लागेको बताएका छन् ।
घानाविरुद्ध रोनाल्डोमाथि पेनाल्टी क्षेत्रभित्र फल गरेपछि पोर्चुगलले पेनाल्टी पाएको थियो । रोनाल्डोले उक्त पेनाल्टीमा गोल गर्दै विश्वकपको आठौं गोल गरे । पोर्चुगलले ३-२ को रोमान्चक जित हासिल गर्दा रोनाल्डो ८८ औं मिनेटसम्म मैदानमा रहे ।
घानाविरुद्ध जितमा रोनाल्डो खेलको प्लेयर अफ द म्याच चुनिएका थिए । उनले पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । पाँचौ विश्वकप खेलिरहेका उनी सबै पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी समेत बने । उनले यसअघि सन् २००६ देखि २०१४ सम्म १-१ गोल र सन् २०१८ मा ४ गोल गरेका थिए ।
खेलपछि बोल्दै रोनाल्डोले आफ्नो लागि यो क्षण विशेष रहेको बताए ।
पोर्चुगलले अब समूह चरणको दोस्रो खेलमा उरुग्वेको सामना गर्नेछ ।