काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ प्रदान गर्ने भएको छ । बुधवार चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा संघले यो सम्मान घोषणा गरेको हो । आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवस तथा संघको २४ औँ वार्षिकोत्सवको अवसर पारेर उक्त सम्मान प्रदान गरिने छ ।
कलाको विभिन्न विधामा कम्तीमा २५ वर्ष पत्रकारिताको माध्यमबाट योगदान पुर्याएको र १५ वर्षभन्दा बढी निरन्तर सङ्घमा आबद्ध एक जना पत्रकारले हरेक वर्ष जेठ ७ गते उक्त सम्मान प्राप्त गर्ने संघका अध्यक्ष समीर बलामीले जानकारी दिए । उनले अग्रज पत्रकारको हौसला बढाउन रजत सम्मान सुरु गर्न लागिएको बताए । सम्मानको राशि ५५ हजार ५ सय ५५ रुपैयाँ छ ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, निर्माता संघका अध्यक्ष नबल खड्का, कलाकार संघका अध्यक्ष मोहन निरौला, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष विदुर गिरी, शान्ति प्रिय, दिनेश सिटौला लगायतको उपस्थिति रहेको कार्यक्रममा सङ्घले २०८० सालको क्यालेन्डर पनि सार्वजनिक गरेको छ ।
संघले हरेक वर्षको जेठ ७ गते आफ्नो स्थापना दिवस पारेर दुई जनालाई ५१ हजार राशिको ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ र दुई जनालाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान प्रदान’ र एक जनालाई एउटा ल्यापटप सहितको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’, २५ हजार नगदसहित मोफसलका एक पत्रकारलाई ‘राष्ट्रिय मोफसल पत्रकारिता पुरस्कार’ प्रदान गर्दै आएको छ ।