सारांश
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अबको दुई महिनाभित्र काठमाडौंमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्ने योजना बनाएको छ । प्राधिकरणले यहाँको रत्नपार्क र महाराजगन्ज–लाजिम्पाट क्षेत्रमा घरघरमै भूमिगत लाइनबाटै बिजुली जोड्ने तयारी गरेको छ ।
महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका पानीपोखरी, लाजिम्पाट र नारायणहिटी संग्रहालयसहित कीर्तिपुर आसपासका क्षेत्रमा भूमिगत लाइनबाटै बिजुली वितरण गर्ने तयारी सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए ।
उनका अनुसार कतिपय वितरण बक्सबाट घरका मिटरसम्म जाने बिजुलीको लाइन पनि भूमिगत गर्ने काम भइरहेको छ । भूमिगत लाइनबाटै घरघरमा बिजुली पुर्याउन प्राधिकरणले पूर्वाधार बनाउँदै गरेको र तार भूमिगत गर्ने काम सकिएका फिडरहरूमा क्रमशः यो काम गर्दै जाने योजना बनाएको जनाइएको छ ।
काठमाडौंको वितरण लाइन सुदृढीकरण गर्न प्राधिकरणले उपत्यकाभर बिजुलीको तार भूमिगत गर्न ठेक्का लगाएर काम गरिरहेको छ । यसपछि इन्टरनेटका तार समेत पोलमा राख्न नपाइने भएकाले प्राधिरकणले विकल्प सोच्न इन्टरनेट सेवा प्रदायकलाई आग्रह गर्दै आएको छ ।