सारांश
काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन् । परिसंघको २०औँ वार्षिक साधारणसभाबाट अग्रवाललाई अध्यक्षमा चयन गरिएको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका उनी परिसंघको विधानानुरूप स्वतः अध्यक्षमा चयन भएका हुन् ।
अग्रवाल डेढ दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्य, उद्योग समिति सभापति, राजस्व समिति सभापति, रोजगारदाता परिषद् संयोजक हुँदै परिसंघको उपाध्यक्ष बनेका थिए । आरएमसी गु्रपका कार्यकारी निर्देशक समेत रहेका अग्रवाल सिमेन्ट, स्टिल, खाद्यलगायत क्षेत्रमा आबद्ध छन् ।
शनिबार राजधानीमा आयोजित वार्षिक साधारणसभाबाट परिसंघको राष्ट्रिय परिषद् सदस्यहरूबाट सर्वसम्मत रूपमा सात उपाध्यक्ष चयन भए । परिसंघको उपाध्यक्षमा निर्वाण चौधरी, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर र भीम घिमिरे चयन भए । अमित मोर र भीम घिमिरे पहिलोपटक परिसंघको उपाध्यक्ष बनेका हुन् ।
अध्यक्ष अग्रवालले उपाध्यक्ष एवं राष्ट्रिय परिषद् सदस्यहरूलाई शपथग्रहण गराए ।