सारांश
काठमाडौं । नाबालिग बलात्कार मुद्दामा सफाइ पाएका अभिनेता पल शाहलाई कार्यक्रममा निम्ता गरेर बलात्कार घटनालाई मजाक बनाइएको भन्दै हास्य कलाकार तथा टेलिभिजन प्रस्तोता सन्दीप क्षेत्रीको चर्को आलोचना भइरहेको छ ।
कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने ‘ह्वाट द फ्लप’ शोमा क्षेत्रीले शाहलाई अतिथिको रूपमा निम्ता गरेका थिए । शाहले कार्यक्रममा जेल पर्दाको अनुभव सुनाइरहँदा क्षेत्रीले त्यसलाई मजाक बनाउँदै हाँसेका थिए । जेल बसाइको वर्णन गर्दा पल भावुक भन्दा पनि बढी रोमाञ्चित देखिन्थे। पलभन्दा बढी रोमाञ्चित देखिएका थिए सन्दीप क्षेत्री।
पलले जेलमा हुन्छु भन्ने बित्तिकै पहाड खसेजस्तो फिल भएको बताएका छन्। उनले जेल बसाइ कष्टकर भएको पनि बताएका छन्। उनले भनेका छन्, 'जेलको शौचालयको गन्धले तीन दिनसम्म मलाई रिंगटा चलिरहेको थियो। कहाँ लड्छु जस्तो भएको थियो, त्यहाँको गन्धले। यति ‘ब्याड स्मेल’ आउँदो रहेछ। ट्वाइलेटको ढोका थिएन, पर्दाजस्तो मात्रै थियो त्यो पनि ५ वर्षदेखि नधोएको। गन्धले म त पागलजस्तो भएँ। त्यो पनि ‘पल दाइ आउँछ’ भन्ने थाहा भएर सफा गरेको रे।'
पलले जेलमा ५–७ वटा चेन गेट पार गरेर जाँदा जीन्दगी सकियो भन्ने लागेको पनि बताएका छन्। 'जेलमा ५–७ वटा चेन गेट पार गर्नुपर्ने हुँदो रहेछ। त्यसले नै सबैभन्दा पहिले मोरल डाउन हुने। लास्टमा ठूलो पर्खाल थियो १५/२० फिटको। त्योभित्र विल्डिङ। ठूलो पर्खालभित्र पस्ने बेला मलाई अब लाइफ सकियो भनेजस्तो भएको थियो।’ उनले भने।