सारांश
काठमाडौं । नेपाली गीत-संगीतसम्बद्ध सात संस्थाले संगीतकार तथा रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीविरुद्ध रेडियो प्रसारकहरुले लगाएको प्रतिबन्ध तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।
गीतकार संघ नेपाल, संगीतकार संघ नेपाल, राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठान, संगीत उत्पादक संघ नेपाल, नेपाल संगीत उद्योग संघ, संगीत तथा चलचित्र उत्पादक समाज नेपाल, प्रस्तोता समाज नेपाल र संगीत रोयल्टी संकलन समाज नेपालले आज संयुक्त विज्ञप्ति जारी गर्दै कानुन अनुसार रोयल्टी नबुझाए कानुनी उपचार खोज्ने चेतावनी समेत दिएका छन् ।
“हामी आशा गर्दछौं हाम्रा गीतसंगीतको प्रशारण गर्न र संगीत रोयल्टी तिर्न तपाईंहरू कानुनी मार्ग अबलम्बन गर्नुहुनेछ अन्यथा हाम्रा सिर्जनाका गैरकानुनी प्रयोगविरुद्ध हामी कानुनी उपचार खोज्न बाध्य हुने छौँ” संयुक्त विज्ञप्तिमा उल्लेख छ, “स्रष्टाका गुनासा र असन्तुष्टिलाई आफ्नो निजी फेसबुक वालमा खरो भाषामा पोखेकै आधारमा संगीत रोयल्टी संकलन समाजका अध्यक्षलाई व्यक्तिगत निशाना बनाई स्रस्टा सुरेश अधिकारीका सम्पूर्ण सांगीतिक सिर्जनामाथि नै प्रतिबन्ध घोषणा गरी नबजाउने असान्दर्भिक र बौद्धिक जमात माझ असभ्य र निष्कृष्ट देखिने निर्णय फिर्ता लिनुपर्छ ।”