सारांश
काठमाडौं । भारतले साउन ४ गते बासमतीबाहेकको सेतो चामलको निर्यात बन्द गर्ने घोषणा गरेपछि नेपाली बजारमा त्यसको प्रत्यक्ष असर देखिन थालेको छ ।
भारतको घोषणाको एक साता नपुग्दै नेपाली बजारमा व्यापारीहरूले चामलको भाउ बढाउन थालेका छन् । अहिले एक बोरामा ५ सय रूपैयाँसम्म मूल्यवृद्धि भएको गुनासो उपभोक्ताले गरिरहेका छन् ।
नेपाल चामल, तेल, दाल तथा उत्पादक संघका निवर्तमान अध्यक्ष सुवोधकुमार गुप्ता नेपालसँग अझै करिब ३ महिनालाई पुग्ने धान रहेको बताउँछन् । मंसिरदेखि नयाँ धान आउने भएकाले चामलको अभाव नहुने उनको तर्क छ ।
अहिले भारतको निर्णयभन्दा पनि धानमा आएको मूल्यवृद्धिका कारण चामलको मूल्य बढेको गुप्ताको तर्क छ । नेपालमा ७० लाख मेट्रिक धानको माग छ । तर, उत्पादन ५५ लाख छ । बाँकी १५ लाख मेट्रिक टन धान भारतबाट ल्याउने गरिएको छ ।