सारांश
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भदौ अन्तिम साता न्युयोर्क र असोज पहिलो साता चीन भ्रमण तय भएको छ ।
संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन ३० भदौमा न्युयोर्क पुग्ने र त्यतैबाट ४ असोजमा चीनको औपचारिक भ्रमणमा जाने तय भएको हो । परराष्ट्र मन्त्रालयले दुवै भ्रमणको तयारी थालेको छ ।
मंगलबार बालुवाटारमा पत्रकारहरूसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले ६ र ७ असोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङसहित उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जानकारी दिए । पाँच दिन न्युयोर्कको व्यस्त कार्यतालिका सम्पन्न गरेर प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट ४ असोजमा चीन जानेछन् । उनले न्युयोर्कमा
४ असोजमा संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्नेछन् ।
चीन भ्रमणका क्रममा नेपाल–चीन सीमापार विद्युत् प्रसारणलाइनसम्बन्धी सम्झौता हुन सक्ने प्रधानमन्त्रीको भनाइ छ । उनले रसुवागढी–केरुङ तथा संखुवासभा–तिब्बत विद्युत् प्रसारणलाइन निर्माणबारे सम्झौता हुने संकेत गरे । संखुवासभामा चिनियाँ सहयोगमा जलविद्युत् आयोजना निर्माण गर्ने विषयमा पनि छलफल भइरहेको प्रधानमन्त्रीले बताए ।