सारांश
काठमाडौं । निजी क्षेत्रका अगुवाहरुले सरकारले पछिल्ला दिनमा व्यवसायीप्रति देखाएको व्यवहारको खुलेर विरोध थालेका छन् ।
बाह्रखरी मिडियाले बुधबार आयोजना गरेको कार्यक्रममा उनीहरुले व्यवसायीका समस्या समाधान नगरी निचोर्ने काममात्रै गरेको भन्दै सरकारको चर्को आलोचना गरे । कति अगुवाहरुले अब सडकमा आउनुको विकल्प नभएको हुँदा नेतृत्त्व गर्न उद्योग वाणिज्य महासंघसहित सबै निकायको ध्यानाकर्षण गरेका थिए ।
व्यवसायीहरुले आफूहरुका कुरा पनि नसुनी सरकारले समातेर थुन्ने काम गरेको भन्दै यस्तो व्यवहारले मुलुकमा आर्थिक समृद्धि कसरी हासिल हुन्छ ? भन्दै प्रश्न गरेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको पछिल्लो आर्थिक अवस्था चिन्ताजनक रहेको टिप्पणी गरेका छन् ।
“सरकारले लिएका कतिपय नीतिले अहिले सरकारले नै तलब खुवाउन नसक्ने अवस्था सिर्जना भयो,” उनले भने, “समस्या समाधानका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्छ । नेपाल सरकार, राष्ट्र बैंक, अरु नियामकीयउ निकाय सबै एकैठाउँमा आउनुको विकल्प छैन ।”
विरेन्द्रराज पाण्डे (उपाध्यक्ष– नेपाल उद्योग परिसंघ)
अब माग बढाउने ब्याजदर घटाउने काम गर्नुपर्छ । केही ऐनहरु खारेज गर्नुपर्छ २३ वटा संशोधन गर्ने र तीनवटा नयाँ बनाउनुपर्छ । व्यवसायीलाई पहिले थुन्ने र पछि सुन्ने कामको अन्त्य हुनुपर्छ । धेरै लगानी गरेका छन् सम्पत्ति छोडेर जाने अवस्था छैन जाँदैनन् पनि । उनीहरुको कुरा सुन्नुपर्छ ।
राजेन्द्र मल्ल– अध्यक्ष (नेपाल चेम्बर अफ कमर्स)
नेपालमा पहिले थुन्ने र पछि सुन्ने अवस्था छ त्यसको अन्त्य गर्नुपर्छ । कुनै पनि व्यवसायीलाइई थुन्ने भन्दा पनि अन्तर्राष्ट्रिय अभ्यासअनुसार पासपोर्टहरु जफत गरेर के–के गरिन्छ हेरेर निर्णय गर्नुपर्छ । अहिले सरकारले केही गरेको जस्तो हुने, तर नियामकबाट हामीले सहयोग नपाउने अवस्था छ ।
हामीले चेम्बरबाट भनिरहेका थियौं ब्याजदर कसरी घटाउन सकिन्छ, पुँजी निर्माण कसरी गर्न सकिन्छ,कसरी चलायमान गर्न सकिन्छ भनेर प्रधानमन्त्री, अर्थमन्त्रीलाई आह्वान ग¥यौँ । तर राष्ट्र बैंकले कसुन्ज्याइँ गरेको देखिन्छ ।
रवि लामिछाने– सभापति (रास्वपा)
निजी क्षेत्रले बारम्बार ढोका ढकढक्याउनुपर्ने अवस्था आउनु नै मुलुकका लागि दुर्भाग्य हो । अहिले अर्थतन्त्रभन्दा बाहिर कुरा गएर कुरा गर्ने समय होइन । अर्थतन्त्र बाहिरका कुरा गर्दा सान्दर्भिकता मजाक जस्तो हुन्छ । हामीले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्छ ।
सुनिल शर्मा– सांसद (नेपाली कांग्रेस)
अहिले राजनीति प्रधानमन्त्री र शीर्ष नेताबाटै बिग्रिएको छ । प्रधानमन्त्रीले बोलेका कुरा अहिले लाज लाग्ने अवस्थाका छन् ।
३२ सिटको माओवादीले ८९ र ७९ सिटका ठूला खेलाडीलाई तल सडकमा सुताएर यो देश चल्छ ? अहिलेको नेपालमा उद्योग धन्दा गर्ने वातावरण छैन । घुस नखाई नेपालमा केही काम हुँदै हुँदैन । कम्पनी दर्तादेखि नै घुसबाट सुरु हुन्छ । हामी सधैँ यही कुरा सहेर बस्ने हो ?
मनिष झा– सीईओ (फ्याक्ट्स नेपाल तथा सांसद)
हाम्रो अर्थतन्त्रको योगदानकर्ता को को हो ? कुन कुन क्षेत्र छ यो हामी सबैलाई थाहा छ ।
अर्थतन्त्रमा नयाँ योगदानकर्ता आएको देखिँदैन । १० वर्षको अवस्था हेर्दा उस्तै छ । यसको कारण के हो त ? सरकारको तर्फबाट स्रोत साधन पुँजी र इनोभेसनमा धेरै खर्च भएको छैन । हामीकहाँ कता कताबाट पनि आयात हुन थालेको छ । तर हामीले निर्यात चाहिँ के गर्यौं त ? हामीले निर्यात गर्ने देशमा नयाँ बजार पहिचान गर्नै सकेनौँ । सरकारले त्यस क्षेत्रमा लगानी गर्नै सकेन ।
जनार्दन बराल, अध्यक्ष (सेजन)
अहिले बजारको अवस्थाले पनि नेपालको अर्थतन्त्रको बारेमा बताएको छ । हाम्रो माग घटेको छ । बिक्री घटेको छ । अर्काे एउटा डाटाका अनुसार ४२ वर्षपछि नेपालको अर्थतन्त्रमा निजी क्षेत्रमा जाने कर्जा सबभन्दा कमजोर भएको छ ।