Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

निर्माता र प्रदर्शकबीच सहमति : चलचित्र प्रदर्शन अवधिभर ५०/५० प्रतिशत सेयर बाँड्ने सहमति


सारांश

निर्माता र प्रदर्शकबीच सहमति : चलचित्र प्रदर्शन अवधिभर ५०/५० प्रतिशत सेयर बाँड्ने सहमति
images

काठमाडौं । चलचित्र निर्माता संघ र चलचित्र संघबीच सहमति भएको छ । बिहीबार दुई संघबीच हलमा चलचित्र प्रदर्शन अवधिभर ५०/५० प्रतिशत सेयर बाँडफाँट गर्ने समझदारी भएको निर्माता संघका अध्यक्ष नवल खड्काले जानकारी दिए ।

“आज हामीबीच सिनेमा चलेको अवधिभर ५०/५० प्रतिशत सेयर पाउने सहमति भयो । यो निर्माताहरुका लागि ठूलो उपलब्धी हो,” उनले भने, “लामो समयदेखिको यो मुद्दामा सहमति भएपछि केही हदसम्म निर्माताले राहत महसुस गर्नेछन् । बाँकी मुद्दामा अब हामी छलफल र सहमति गर्दै जानेछौँ ।”

उनका अनुसार सेयर बाँडफाँट समझदारी गएको कात्तिक २४ गतेदेखि नै लागु हुने छ । 

“बाँकी मुद्दामा छलफल र सहमति गर्न भोलि नै हामी कार्यदल बनाउँदै छौँ । उक्त कार्यदलले सके भोलि नै नभए केही दिनमै अरु एजेन्डामा पनि सहमति गर्नेछ,” नवलले भने । 

हलमा बज्ने ट्रेलर तथा हल परिसरभित्र राखिने होर्डिङ बोर्ड र पोस्टरलगायत प्रचार सामग्री प्रयोगमा कसको लगानी रहने भन्ने मुद्दामा कार्यदलले छलफल गरेर सहमति जुटाउनेछ ।

अहिलेसम्म यसको खर्च निर्माताले बेहोर्दै आएका छन् । नेपाली निर्माताले यसको खर्च आफैँ बेहोर्नु परे पनि हिन्दी सिनेमाको हकमा भने हलले नै बेहोर्दै आएका छन् । यसमा आफूहरुलाई हलले विभेद गरेको नेपाली निर्माताहरुले बताउँदै आएका छन् । 

यसअघि निर्माताहरूले हलबाट पहिलो र दोस्रो हप्ता ५० प्रतिशत सेयर पाए पनि तेस्रो हप्ताबाट ३५ प्रतिशत मात्रै पाउने गरेका थिए ।

Press-1700747957.jpg
undefined

चलचित्र  ‘दिमाग खराब’का निर्माताको मागअनुसार दुवै चलचित्रसम्बन्धी संस्थाका वार्ता टोलीले लामो समयदेखि थाँती रहेको सेयर बाँडफाँटको मुद्दामा वार्ता गर्दै आइरहेका थिए । मंगलबार र बुधबार दुई दिन चलेको वार्तापछि दुवै संस्थाका वार्ता टोलीले जुटाएको सहमतिलाई कार्यसमितिले अनुमोदन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij