सारांश
काठमाडौं । निर्देशक लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ।
नारीप्रधान चलचित्र ‘सतीदेवी’को फर्स्टलुक पोस्टरमा केन्द्रीय भूमिकामा रहेको अभिनेत्री मलिका महत फिचर्ड छिन् । सार्वजनिक पोस्टरमा मल्लिका महतलाई जुत्ताको माला लगाउनुको साथै कालोमोसो पोतिएको छ। उनलाई पछाडी एकहुल मानिसले लखेटी रहेको पनि देख्न सकिन्छ। बाबु र छोरीहरु बीचको मिहीन स्नेह,सम्बन्धको आरोहअवरोह तथा समाजको सतही अनि कुसोचको प्रक्षेपण यस चलचित्रले बोल्ने लेखक तथा निर्देशक सुवेदीले बताए।
‘सतीदेवी’ बारे निर्देशक सुवेदी भन्छन्, ‘एकै खालको चलचित्र हेरेर दर्शक वाक्क थिए । यथार्थ चलचित्र बनेका थिएनन् । हामीले देखेका कथामा बनेका चलचित्र कम छन् । आफैंले देख्दै भोग्दै आको कथामा चलचित्र बनाउन मन थियो । यो जमर्कोमा सतीदेवी बनेको हो ।’
पोस्टरमा लेखिएको छ ‘इश्वरको उपहार,सृष्टि धान्छन्,होइनन् कर्महारा। छोरी बुझौं,छोरी पुझौँ, यिनै संसार सारा। यो लेखाईले चलचित्रले नारीको कथा बोल्ने प्रस्ट हुन्छ। चलचित्रमा महतको अलावा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी,तुलसी श्रेष्ठ,इश्वरी सिंह,संदेश लिम्बु,पवन केसी,जगदीश अधिकारी लगायतको अभिनय रहेको छ । दिलासा र साराको प्रस्तुती रहेको फिल्मको निर्माताका श्रीदेवी,दिलासा र सारा सुवेदी छ्न ।
दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको चलचित्रमा निर्देशक सुवेदीकै कथा, पटकथा, संवाद रहेको छ । बाबु श्रेष्ठले छायांकन गरेको चलचित्रमा दीपक शर्मा र सुवास भुसालको संगीत छ, भने रामजी लामिछानेको कोरियोग्राफी छ । काठमाडौँ र लमजुङको विभिन्न स्थानमा छायाङ्कन भएको चलचित्रको हाल पोस्ट प्रोडक्सनको कार्य अन्तिम चरणमा छ।