Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

इनासको नवौं युरोपियन कार्यक्रम फ्रान्सको राजधानी पेरिसमा हुने


सारांश

इनासको नवौं युरोपियन कार्यक्रम  फ्रान्सको  राजधानी पेरिसमा हुने
images

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासको नवौं युरोप क्षेत्रीय कार्यक्रम आगामी मे महिनाको ११ र १२ तारिखका दिन फ्रान्सको राजधानी पेरिसमा हुने भएको छ। युरोप महादेशकै एक बृहत कार्यक्रमको रुपमा हेरिने इनासको नवौं क्षेत्रीय कार्यक्रम आयोजनाको जिम्मेवारी फ्रान्सलाई दिने इनास ग्लोबलले गत वर्ष जर्मनीको म्युनिखमा सम्पन्न आठौँ क्षेत्रीय कार्यक्रमको समयमा निर्णय गरे बमोजिम यसपटकको कार्यक्रम पेरिसमा हुन लागेको हो।

ईनास युरोप क्षेत्रीय समिति तथा राष्ट्रिय समिति फ्रान्सको आयोजनामा दुई दिनसम्म चल्ने यस कार्यक्रममा युरोपका विभिन्न मुलुकहरुबाट ठूलो संख्यामा इनासका प्रतिनिधि,कलाकार र स्थानीय संघ-संस्था तथा निकायका पदाधिकारीहरुको सहभागिता रहने जानकारी इनासका ग्लोबल प्रवक्ता समेत रहेका युरोप संयोजक प्रकाश तिवारीले गराएका छन्। संस्थाको क्षेत्रीय बैठक र सांस्कृतिक कार्यक्रम सहित दुई दिनसम्म चल्ने यस कार्यक्रमको पहिलो दिन ईनास युरोपको नवौं क्षेत्रीय बैठक हुने र दोश्रो दिन युरोप र अन्य देशहरुबाट आउने कलाकारहरुको प्रस्तुति सहित युरोप महादेश स्तरीय नवौं एकल नृत्य र छैठौं एकल गायन प्रतियोगिता हुने उनले जानकारी गराए।

युरोप महादेशकै एक विशाल कार्यक्रमको रुपमा आयोजना हुने यस कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न आयोजकका तर्फबाट तिब्र रुपमा तयारी अघि बढाइएको छ। बेलायत, फ्रान्स, बेल्जियम, अष्ट्रिया, जर्मनी, डेनमार्क, नेदरल्याण्ड, ईटाली, पोल्याण्ड, स्पेन, पोर्चुगल, माल्टा, फिनल्याण्ड, स्विटजरल्याण्ड, चेक गणतन्त्र, नर्वे, आइसल्याण्ड लगायतका मुलुकहरुबाट ठूलो संख्यामा कलाकार, साहित्यकार, पत्रकार, नेपाल सरकारका प्रतिनिधिहरु, युरोपस्थित नेपाली कुटनैतिक निकायका पदाधिकारीहरु, गैर-आवासीय नेपाली संघ लगायत अन्य संघ-संस्थाका पदाधिकारीहरु र अन्य महादेशहरुबाट इनास र अन्य संघ-संस्थाका प्रतिनिधिहरुको ठूलो संख्यामा सहभागिता रहने यस नवौं क्षेत्रीय कार्यक्रमलाई व्यवस्थितरुपमा सम्पन्न गर्न फ्रान्सस्थित संघ-संस्थाका प्रतिनिधि, व्यवसायी, मिडियाकर्मी, युरोपस्थित इनासका सम्पूर्ण राष्ट्रिय समिति, युरोप क्षेत्रीय समिति तथा इनास ग्लोबलका पदाधिकारीहरु समेतको उपस्थितिमा आगामी महिना पेरिसमा एक प्रत्यक्ष बैठक आयोजना गरिन लागिएको आयोजक राष्ट्र इनास फ्रान्सका अध्यक्ष आभाष आचार्यले जानकारी गराएका छन्।

यस नवौं युरोपस्तरीय गायन र नृत्य प्रतियोगितामा भाग लिन चाहने प्रतिभावान कलाकारहरुले आफू बस्ने राष्ट्रमा रहेको इनासको राष्ट्रिय समितिमा सम्पर्क राखी प्रारम्भिक अडिसनमा भाग लिई छनौट हुनुपर्ने र इनासको राष्ट्रिय समिति नभएको युरोपेली राष्ट्रहरुबाट प्रतियोगितामा सहभागिता जनाउन चाहने कलाकारहरुले भने इनास युरोपको इमेल inaseurop@gmail.com मार्फत सिधै सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको जानकारी आयोजकका तर्फबाट गराइएको छ।

प्रतियोगितासम्बन्धि नियम, आवेदन बुझाउने अन्तिम मिति लगायतका अन्य विवरणहरु केहि दिनभित्र सार्वजनिक गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij