काठमाडौं । नेपाली चलचित्र ‘बम बहादुर’को प्रिमियर भारतको दार्जिलिङमा गरिएको छ ।
दार्जिलिङको गोर्खा रङ्गमञ्च भवनमा चलचित्र प्रिमियर आयोजना भएको थियो । प्रिमियरमा कलाकार र निर्माण युनिटको पनि सहभागिता थियो । आगामी पुस ५ गतेबाट रिलिज हुने प्रिमियरमा सहभागी दर्शकले चलचित्र मार्मिक र जीवन्त रहेको प्रतिक्रिया दिएका छन् ।
जोन राईको निर्देशन रहेको प्रिमियरमा निर्माताले कलाकार र चलचित्रका टिमका सदस्यलाई सम्मान गरेको थियो । चलचित्रमा सौगात मल्ल, अनिशा रसाइली, अजय प्रधान, शान्तिला तामाङ, बाल कलाकार वशिष्ठ कार्की, प्रभात पाख्रिन, बादल क्षेत्री लगायतको अभिनय छ ।
‘बम बहादुर’ले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षका पलहरूमा आधारित सन्देशमूलक र ऐतिहासिक सङ्घर्षलाई चित्रण गरेको छ ।
बिस्ट ब्रदर्स फिल्म्स प्रालिको निर्माणमा बनेको चलचित्र ‘बम बहादुर’को निर्माता सञ्जीव सार्की हुन् । जोन राई र रुपेश तामाङको कथा र पटकथा रहेको चलचित्रको छायांकन सुजोयकुमार घोष ‘मुन्ना’ले गरेका छन् । सम्पादन ज्ञान गुरुङले गरेका छन् । यसमा सङ्गीत तथा गीत दीपङ्कर सिंह मुखियाले तयार पारेका हुन् भने म्युजिक एरेन्जमेन्ट तथा ब्याकग्राउन्ड स्कोर इजाज अलीले गरेका छन् ।