सारांश
काठमाडौं । संगीत रोयल्टी नबुझाउने होटेल तथा रेस्टुराँविरुद्ध संगीत रोयल्टी संकलन समाज नेपालले जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएको छ ।
पटक–पटक ताकेता गर्दा पनि रोयल्टी नबुझाउने होटेल, रेस्टुराँ र क्याफेविरुद्ध उजुरी दिइएको संगीत रोयल्टी संकलन समाज नेपालका अध्यक्ष सुरेश अधिकारीले जानकारी दिए ।
“धेरै क्षेत्रका कम्पनी, संस्था तथा व्यक्ति रोयल्टी बुझाउनुपर्छ भन्नेमा सचेत छैनन्,” अध्यक्ष अधिकारीले भने, “हामीले १९ हजार चिठी काटेका छौँ । उजुरीका लागि परिपक्व भएका संस्थाविरुद्ध हाम्रो उजुरी क्रमैसँग जानेछ ।”
उपत्यकास्थित नाम चलेका होटल र रेस्टुरेन्टविरुद्ध प्रहरीमा उजुरी दिएको समाजका महासचिव बी पाण्डेले बताए ।
महासचिव पाण्डेले २१, ७ र ३ दिने अल्टिमेटमसहित रोयल्टी तिर्न पत्राचार गरेपनि समयमा रोयल्टी नतिर्नेविरुद्ध आफूहरू प्रहरीकहाँ पुगेको बताए । ‘हामीहरू कानूनअनुसार मुद्दा प्रक्रियालाई अघि बढाउँछौं’ पाण्डेले भने, ‘रोयल्टी नतिर्नेविरुद्ध उजुरी दायर हुने कार्य क्रमिकरुपमा अघि बढ्नेछ ।’
प्रहरी परिसरकी प्रवक्ता तथा डीएसपी पूर्णिमा चन्दले प्रहरीमा उजुरी आएको र आफूहरू अनुसन्धानको क्रममा रहेको बताइन् ।