सारांश
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने गरी आएको बताएका छन् ।
शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले सरकारले ल्याएको बजेट सकारात्मक रहेको प्रतिक्रिया आएकाले कार्यान्वयन पनि सकारात्मक रुपमा हुने विश्वास व्यक्त गरे ।
७.५ प्रतिशतको आर्थिक वृद्धिदर भएको इतिहास रहेकाले ६ प्रतिशतको वृद्धिदर हासिल सम्भवना रहेको उनको भनाइ छ ।
“बजेट निर्माणका सिद्धान्तलाई अनुसरण गरेर निर्माण गरिएको छ । सीमा पालना गरेर बजेट आएको छ । स्रोत व्यवस्थापन गरेर नै बजेट निर्माण गरिएको छ,” अर्थमन्त्री पौडेलले भने, “राजस्वको अनुमान आगामी आर्थिक वर्षमा लक्ष्य हासिल हुने विश्वास छ । आर्थिक वर्ष सकिँदै गर्दा प्रश्न गर्न सक्ने अवस्था आउन दिइनेछैन ।”