सारांश
काठमाडौं । सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले आइतबार काठमाडौंको न्युरोड क्षेत्रमा विरोध प्रदर्शन गरेको छ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनका गहनामा २ प्रतिशत विलासिता कर र हिराका गहनालाई मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीमा ल्याउने घोषणा गरेपछि व्यवसायीहरू आन्दोलित भएका हुन्।
प्रदर्शनका क्रममा उनीहरूले 'कालो व्यानर' र विभिन्न नारासहितका प्लेकार्ड बोकेर न्युरोड गेटदेखि बसन्तपुर डबलीसम्म र्याली निकालेका थिए।
सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्यले बजेटमा उल्लेख गरिएका केही प्रावधानले व्यवसायीहरूलाई प्रत्यक्ष असर पु¥याएको बताए।
उनले भने, "बजेटमा सुनका गरगहनामा लगाइएको २ प्रतिशत विलासिता कर र रत्न तथा पत्थरमा १३ प्रतिशत कर लगाइएको छ। यी प्रावधानले व्यवसाय चलाउन असम्भव बनाएको छ।"
शाक्यका अनुसार, व्यवसायमैत्री ऐनको माग वर्षौंदेखि गर्दै आइएको भए पनि सरकारबाट सुनुवाइ भएको छैन। "सधैं आश्वासन मात्र दिने काम भएको छ," उनले भने।
सरकारको पछिल्लो प्रावधानले व्यवसाय नै बन्द हुने स्थिति सिर्जना भएको भन्दै शाक्यले देशभरका व्यवसायीहरूलाई एकजुट भएर अझ सशक्त आन्दोलन गर्ने तयारी भइरहेको जानकारी पनि दिए।
प्रदर्शनकारीहरूले उपभोक्ता, कर्मचारी, कालिगढ र व्यवसायीमैत्री कानुन तत्काल ल्याउन माग समेत गरेका छन्।