Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

एयर इन्डिया विमान दुर्घटनाको कारण पत्ता लगाउन दबाब


सारांश

एयर इन्डिया विमान दुर्घटनाको कारण पत्ता लगाउन दबाब
images

एजेन्सी । एयर इन्डिया विमान दुर्घटनाका पीडितहरूले दुर्घटनाको कारण पत्ता लगाउन दबाब दिएका छन् । उनीहरुले विमान कम्पनीको लापरवाहीका कारण घट्ना भएको आक्रोश समेत व्यक्त गरेका छन् ।
भारत सरकारले दुर्घटनाको कारण पत्ता लगाउन गठन गरेको एक विशेष समितिको प्रतिवेदनको पनि प्रतिक्षा गरिरहेको पीडितहरुको भनाइ छ ।  
अहमदाबादबाट लन्डनका लागि उडान भरेको केही समयपछि बिहीबार भएको एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २७९ पुगेको छ भने ३८ जनाको जमिनमै मृत्यु भएको पुष्टि भएको छ।
परिवारहरूले मृत्यु भएका आफन्तको डीएनए पहिचान प्रक्रियाको विवरणहरू पर्खिरहेको बताएका छन् । ‘हाम्रा आफन्तहरु मरेका छन् । यो कसको लापरवाही हो ? को जिम्मेवार छ? एयर इन्डियाले आफ्ना विमानहरू विरुद्ध आएका गुनासोहरूमा ध्यान नदिएकोमा चिन्ता लागेको छ । लन्डन उडानको लागि यो विमान किन रोजियो ? के मानव जीवनको कुनै मूल्य छैन ?’ दुर्घटनामा आफ्नो सन्तान गुमाएका बुबा रफिक मेमनले सोधे।
भारत सरकारले उच्चस्तरीय समितिले अनुसन्धानको काम सुरु गरेको जनाएको छ ।  यसैबीच, भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरोलाई दुर्घटनाको कारण अनुसन्धान गर्न बेलायत, संयुक्त राज्य अमेरिका, क्यानडा, युरोपेली सुरक्षा एजेन्सी र अन्य टोलीहरूले सहयोग गरिरहेका छन् ।
बरामद गरिएको उडान रेकर्डरबाट प्राप्त डेटा प्रशोधन र विश्लेषण भइरहेको छ, साथै विमान दुर्घटनाग्रस्त भएको भिडियोहरूको पनि अनुसन्धान जारी छ । अनुसन्धान टोलीले प्राविधिक त्रुटिहरू मात्र नभई सञ्चालन र मर्मतसम्भार अवस्था पनि जाँच गर्ने समाचार एजेन्सी सीसीटीभीप्लसले उल्लेख गरेको छ । 
यता, गुजरात राज्य प्रशासनले दुर्घटनामा मृत्यु भएकाहरूको मृत्यु प्रमाणपत्र सिधै अस्पतालमा नै उपलब्ध गराउने जनाएको छ ।

अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केही समयपछि मेघानीनगरको बीजे मेडिकल कलेज परिसर सहितको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको लन्डनका लागि उडान भरेको एआई–१७१ उडानको दुर्घटनाको अनुसन्धान गरिरहेको विमान दुर्घटना अनुसन्धान ब्यूरोले विमानको ब्ल्याक बक्स सफलतापूर्वक प्राप्त गरेको छ ।
गुजरात राज्यको राजधानी गान्धीनगरबाट लगभग १७ किलोमिटर दक्षिणमा रहेको अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केही समयपछि विमान दुर्घटना भएको हो । 
दुर्घटनामा २४१ जनाको मृत्यु भएको थियो भने भारतीय मूलका ब्रिटिश नागरिक विश्वकुमार रमेशको रूपमा पहिचान गरिएका एक मात्र जीवित व्यक्ति घाइते भए र उनको उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij