सारांश
काठमाडौं । नेपालमा पछिल्लो समय उत्कर्षमा पुगेको डेंगी संक्रमणले महामारीको रूप लिएको छ । चिसो बढेसँगै डेंगी घट्ने अपेक्षा गरिएको छ । सरकारले कात्तिकपछि डेंगी घट्दै जाने अनुमान गरेको छ । तर, विज्ञ अहिले नै भन्न नसकिने बताउँछन् ।
नेपालमा १३ दिनमा २७ जनाको मृत्यु भएको छ भने १५ हजार बढी संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार असोजका १३ दिनमा मात्रै देशभर १५ हजार ८९२ जना डेंगी संक्रमित थपिएका हुन् ।
भदौ ३० गतेसम्म डेंगी संक्रमितको संख्या १२ हजार २१७ रहँदा असोजका १३ दिनमा यो संख्या २८ हजार १०९ पुगेको छ । यही अवधिमा २७ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै असोजयता सात हजार ९१ जना संक्रमित थपिएका छन् । हाल देशभर डेंगी संक्रमितको संख्या २८ हजार १०९ र मृतकको संख्या ३८ पुगेको छ । असोजयता महाशाखाको तथ्यांक छ । तर, यो तथ्यांक देशभरका ११८ वटा अस्पताल तथा प्रयोगशालाबाट इवार्स (अर्ली वार्निङ रिपोर्टिङ सिस्टम)मा इन्ट्री भएको तथ्यांक मात्रै हो ।
कतिपय निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरू इवार्स सिस्टममा अझै समावेश नभएकाले यही नै अन्तिम तथ्यांक हो भन्न सक्ने अवस्था नरहेको महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहाल बताउँछन्