Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

स्केचिङ एन्ड स्कप्चर प्रदर्शनी २०८२ सुरु


सारांश

स्केचिङ एन्ड स्कप्चर प्रदर्शनी २०८२ सुरु
images

काठमाडौं। काठमाडौँ महानगरपालिका शिक्षा विभाग र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा महानगरअन्तर्गतका ४६ विद्यालयका ४६ समूहमा सञ्चालन भएको शिक्षामा सिप कार्यक्रमअन्तर्गतको ‘स्केचिङ एन्ड स्कप्चर’ मोड्युलको तालिम÷कार्यक्रममा विद्यार्थीहरूबाट सिर्जित कलाकृतिको प्रदर्शनी शुक्रवारबाट सुरु भएको छ ।

प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गरे ।

शिक्षा र कलालाई सँगसँगै जोडेर लगेको बताउँदै उहाँले भने ‘यो हेर्दा सामान्यजस्तो लाग्छ तर यो हाम्रो समाजको बालबिम्बीकरण पनि हो र समाजमा भोलि सिर्जनात्मक रूपले बौद्धिक र प्राज्ञिक क्षेत्रमा जाने साथसाथै विभिन्न व्यक्तित्व बन्नका लागि पनि प्रारूपमा यो आधारभूत कुरा हो ।’

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रदर्शनीमा करिब १३०० भन्दा बढी विद्यार्थीले सिर्जना गरेका चित्र तथा मूर्ति राखिएको बताए ।

उहाँले सिर्जनशील समाजसँगै सिर्जनशील नागरिक बनाउन कलाको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै यस प्रदर्शनीले नेपालको भोलिको दिन कस्तो हुन्छ भनेर चित्र÷मूर्तिमार्फत सङ्केत गरेको धारणा राखे ।

कार्यक्रम संयोजक तथा प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले कलाकार बन्नु ठुलो कुरा हो । विशेषतः हामी कलाकार अरूको अधीनमा काम गर्दैनौँ ।

यस क्षेत्रमा स्वतन्त्र भएर काम गर्न सकिन्छ र अरू क्षेत्र जत्तिकै प्रगति गर्न सकिन्छ । यति धेरै कलै कला भएको देशमा यस्ता कार्यक्रमहरू महत्त्वपूर्ण हुन्छन् ।’

१७ गतेसम्म चल्ने प्रदर्शनीमा काठमाडौँ महानगरअन्तर्गतका पशुपति मित्र स्रोत केन्द्र मा.वि, श्रम राष्ट्रिय मा.वि, वाल व्यसायी केन्द्र मा.वि, शिवपुरी मा.वि, शान्ति विधागृह मा.वि , वासवारी मा.वि, महेन्द्र राष्ट्रिय मा.वि, धुम्रबराह मा.वि, टंगाल मा.वि, नन्दी मा.वि, पद्मोदय मा.वि, शहिद शुक्र मा.वि, पद्मकन्या मा.वि, विजय स्मारक मा.वि,भानु मा.वि, संस्कृत बौद्घ मा.वि, रत्न राज्य मा.वि, महेन्द्र बौद्ध मा.वि, नव जागृति मा.वि, जनकल्याण मा.वि, ज्ञानोदय मा.वि, जन प्रभात मा.वि, नील बाराही मा.वि, कुलेश्वर मा.वि, जन विकास मा.वि, जनपथ मा.वि, शान्ति निकुञ्ज मा.वि, नेपाल आदर्श मा.वि, बाल सेवा मा.वि, विश्व निकेतन मा.वि, गुहेश्वरी बाल शिक्षा मा.वि, सरस्वती निकेतन मा.वि, कन्या मन्दिर मा.वि, शान्ति शिक्षा मन्दिर मा.वि , गीतामाता मा.वि, शारदा मा.वि , भिमसेन गोला मा.वि, शितला मा.वि, सिद्धि गणेश मा.वि, तरुण मा.वि, श्री जुदोदय मा.वि, नेपाल युवक मा.वि, जन जागृति ज्ञान रश्मि मा.वि, श्री सिद्धेश्वर मा.वि, कोटेश्वर सरस्वती मा.विका विद्यार्थीले सिर्जना गर्नुभएको कलाकृतिहरू राखिएको छ ।

यससँगै प्रदर्शनीको सन्दर्भ पारेर प्रशिक्षक तथा सहायक प्रशिक्षकहरूले सिर्जना गर्नुभएका कलाकृति समावेश गरेर ‘एकता’ प्रदर्शनी पनि सुरु भएको छ । यस प्रदर्शनी असार १७ गतेसम्म चल्ने छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij