सारांश
काठमाडौं । यातायात व्यवसायीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई बुझाएको दशबुँदे मागपत्रको ध्यानाकर्षण गराउँदै यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डेलाई १५ दिने अल्टिमेटम बारे जानकारी गराएका छन् ।
तीनवटै यातायात संगठनका नेतृत्वले विभागमै भेटेर मन्त्रीलाई बुझाएको दशबुँदे मागपत्रको ध्यानाकर्षण गराउँदै १५ दिने अल्टिमेटम बारे स्मरण गराएका हुन् । सरकारलाई दिएको समय फागुन २ गते सकिदैँछ । यस बीचमा माग सम्बोधन भए निर्धारित कार्यक्रम फेरबदल हुने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए ।
फागुन २ गतेभित्र माग सम्बोधन नभए ३ गतेदेखि देशभरीका श्रमिक, स्वरोजगार व्यवसायी र व्यवसायीहरु सम्पूर्ण सवारीसाधन घर, ग्यारेजमा थन्क्याएर आन्दोलनमा जानु पर्ने विषय नेतृत्वले यातायात व्यवस्था विभागका महानिर्देशक पाण्डेलाई बताएका छन् ।
आफ्ना माग १५ दिनभित्र पूरा नभए यातायात ठप्प पार्ने चेतावनी दिएका मजदुर संघ संगठनहरुले उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलको ध्यानकर्षण गराएका थिए ।