सारांश
काठमाडौं । बलिउड अभिनेता शाहरुख खानले राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका छन्।
तीन दशकभन्दा बढीको लामो करियरपछि, शाहरुख खानले जवानमा आफ्नो अभिनयको लागि पहिलो पटक राष्ट्रिय चलचित्र पुरस्कार जितेका छन् । भारतीय सिनेमाको सबैभन्दा प्रतिष्ठित स्टारहरूमध्ये एकका लागि यो लामो समयदेखिको भावनात्मक उपलब्धि हो ।
७१ औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा भएको छ, जसमा शाहरुखले जवानमा आफ्नो प्रभावशाली अभिनयको लागि सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका छन् । ३३ वर्षको करियरपछि पहिलो पटक यो पुरस्कार उनले पाएका छन् ।
राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेपछि शाहरुखले निर्णायक मण्डल, सूचना तथा प्रसारण मन्त्रालय र भारत सरकारलाई धन्यवाद दिएका छन् ।
“राष्ट्रिय चलचित्र पुरस्कार केवल एउटा उपलब्धि मात्र होइन । यसले म जे गर्छु त्यो महत्वपूर्ण हो भनेर मलाई सम्झाउँछ । यसले मलाई अगाडि बढ्न, कडा परिश्रम गर्न र सिनेमाको सेवा गरिरहन भन्छ,” शुक्रबार शाहरुख खानले सामाजिक सञ्जाल एक्समा लेखे, “यो पुरस्कारले मलाई अभिनय केवल एउटा काम होइन, जिम्मेवारी हो । र, पर्दामा सत्य देखाउनु जिम्मेवारी हो भन्ने सम्झाउँछ ।”
शाहरुखले १९९२ मा दीवानाबाट डेब्यु गरेका थिए । दिलवाले दुल्हनिया ले जायेंगे, स्वदेश, चक दे इन्डिया र माय नेम इज खान जस्ता प्रशंसित र ब्लकबस्टर चलचित्रहरूमा अभिनय गरे तापनि उनी राष्ट्रिय पुरस्कारबाट अहिलेसम्म वञ्चित थिए ।