Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनामा १० बैंकले ७० अर्ब लगानी गर्ने


सारांश

३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनामा १० बैंकले ७० अर्ब लगानी गर्ने
images

काठमाडौं । स्वदेशी निजी क्षेत्रबाट निर्माण हुन लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना – ३४१ मेगावाट क्षमताको बूढीगण्डकीमा लगानी जुटेको छ ।

आंशिक–जलाशय प्रकृतीको यो आयोजना निर्माणका लागि १० वटा बैंक तथा वित्तीय संस्थाले ७० अर्ब रुपैयाँ लगानी गर्ने टुङ्गो लागेको छ ।

नेपाल इनभेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा नबिल बैंक, लक्ष्मी सनराइज बैंक र ग्लोबल आइएमई बैंक सह–नेतृत्वकर्ताका रूपमा रहनेछन् । अन्य ६ बैंक तथा एचआइडिसिएल समेतको संयुक्त लगानी रहनेछ ।

आयोजनामा कुल ७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ, जसमा ७५% (५२.५० अर्ब) बैंकमार्फत र २५% (१७.५० अर्ब) स्वपुँजी रहने आयोजनाका लगानीकर्ता मध्येका एक सुशील थापाले बताए ।

उनका अनुसार साहास ऊर्जाले ५१% (८.९२५ अर्ब) स्वपुँजीको नेतृत्व गर्नेछ, जसको सहायक कम्पनी टाइम्स इनर्जी प्रालि आयोजना प्रवद्र्धक हो ।

गोरखाको चुम नुब्री र धार्चे गाउँपालिकामा निर्माण हुने आयोजना पिकिङ रन अफ दि रिभर (पी–आरओआर) प्रकारको हुनेछ, जहाँ दैनिक ५ घन्टा विद्युत् उत्पादन हुने गरी जलाशय बनाइनेछ ।

भूमिगत विद्युत् गृहमा ५७ मेगावाट क्षमताका ६ वटा पेल्टन टर्बाइनमार्फत विद्युत् उत्पादन गरिनेछ । कम्पनीले २०८७ पुस १५ गतेदेखि व्यावसायिक उत्पादन गर्ने लक्ष्य लिएको छ, जसबाट वार्षिक १८६७ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ ।

उक्त विद्युत् ४५ किलोमिटरको २२० केभी प्रसारण लाइनमार्फत एमसिसीद्वारा निर्माणाधीन रातमाटे सबस्टेसनमा जोडिनेछ ।

यो आयोजना निजी क्षेत्रको तमोरमा भइरहेको २८५ मेगावाटको परियोजनाभन्दा पनि ठूलो रहेको छ, जसले नेपालको ऊर्जाक्षेत्रमा नयाँ कीर्तिमान राख्नेछ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij