Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

नेवार समुदायमा तीज : बदलिंदैछ आस्था, परम्परा र सोच


सारांश

नेवार समुदायमा तीज : बदलिंदैछ आस्था, परम्परा र सोच
images

काठमाडौं । तीज पर्वले धेरैको दिमागमा हिन्दु धर्मावलम्बी नारीहरूले उपवास बसेर भगवान शिव–पार्वतीको पूजा गर्ने परम्परा हो भन्ने बुझ्ने गरेका छन् ।

तर नेपालकै महत्वपूर्ण समूदाय मानिने नेवारहरूले भने परम्परादेखि नै तीजको व्रत बस्ने गरेका छैनन् । बहुसंख्यक नेवारहरू सनातन हिन्दूधर्मालम्बी भएपनि उनीहरूको मौलिक परम्परा र धार्मिक संस्कारमा तीज मनाउने वा ब्रत बस्ने चलन छैन् ।

नेवार महिलाले तीज ब्रतलाई बाध्यता नठान्नुको प्रमुख धार्मिक कारण पनि पाइन्छ । नेवार समुदायका सनातनी कन्याहरूको बाल्यकालमै भगवान सूवर्ण कुमार अर्थात् हिरण्यगर्भसँग वैदिक–तान्त्रिक निर्देशनअनुसार विवाह हुने परम्परा छ ।

यसरी विवाह सम्पन्न गरेपछि उनीहरू कहिल्यै विधवा नहुने मान्यता रहिआएको छ । यसरी कहिल्यै विधवा नहुने नारीहरूले तीजमा पुनः सौभाग्य प्राप्तिका लागि व्रत बस्नुपर्ने धर्मशास्त्रीय आवश्यकता नरहेको विश्वास गरिन्छ ।

यस्तै, नेवार समाजमा तीनपटक विवाह गर्ने परम्परा छ भन्ने कुरा पनि उल्लेखनीय छ । पहिलो विवाह बेलसँग हुन्छ जसलाई ‘इहि’ भनिन्छ । दोस्रो विवाह बारा तयेगु अर्थात् सूर्यदर्शन हो । यसमा बालिकालाई १२ दिनसम्म गुप्तवासमा राखी सूर्यसँग विवाह गराइन्छ ।

यो संस्कारपछि सूर्यले नकारात्मक शक्तिबाट जोगाउने, रजस्वला अवधिमा हुने अपवित्रता वा छुवाछुतबाट मुक्त गराउने विश्वास रहिआएको छ ।

यही कारण ऋषिपञ्चमीको व्रत पनि नेवार महिलाले बस्नु पर्दैन भन्ने शास्त्रीय मान्यता रहेको पाइन्छ । कतिपय ठाउँमा अग्निसँग विवाह गर्ने परम्परासमेत देखिन्छ ।

तर समय बदलिँदै जाँदा नेवार समाजमा पनि तीजप्रति चासो देखिएको छ । विशेषगरी शहरी जीवनशैली र मित्रता–संगतका कारण धेरै नेवार महिलाले पनि तीज मनाउने गरेको पाइन्छ । यो देखासिखी वा बाध्यता होइन, बरु व्यक्तिगत आस्था र इच्छाले प्रेरित हो भन्ने गरिन्छ ।

ललितपुर निवासी अनिता श्रेष्ठ कपालीका अनुसार तीज मनाउने वा नमनाउने कुरा आस्थाको विषय हो । उनले भनिन्, ‘तीज नमनाउने भन्ने होइन, यो त चासोको कुरा हो ।

जसको आस्था हुन्छ, उसले मनाउँछ । आजकाल नेवारहरूले पनि तीज मनाउने गरेका छन् । यो देखासिखी होइन, कसैले आस्था भएर मनाउँछन्, कसैले साथी–संगतमा रमाइलो गर्न मनाउँछन् ।’

त्यसैगरी पाटनकी गीता कपालीको भनाइमा नेवार समुदाय जात्रा–पर्वमै बढी रमाउने भएकाले तीजलाई प्राथमिकतामा राखिएको छैन् । उनले भनिन्, ‘हामीलाई जात्राको चासो हुन्छ, त्यो कहिले हुन्छ, कस्तो हुन्छ भन्ने थाहा हुन्छ ।

तर तीज भनेको के हो भन्ने पहिल्यैदेखि थाहा थिएन । चाहेको भने सबैले मनाउन सक्छन्, भगवानकै कर्म हो ।’

पाटनमै भेटिएकी नानु श्रेष्ठले भने अझ फरक दृष्टिकोण राखेकी छन् । उनको भनाइमा, तीज कुनै जात विशेषको पर्व होइन, बरु सबैले मनाउन मिल्ने चाड हो ।

उनले भनिन्, ‘तीज भनेको शिव–पार्वतीको पूजा गर्ने हो । आफ्नो परिवारको दीर्घायू र सुखका लागि व्रत बस्ने हो । त्यसैले यो समूदायले मनाउने, अर्कोले नमनाउने भन्ने होइन । तर अहिलेको तीज मनाउने शैली पुरानो भन्दा फरक छ, मलाई भने अहिलेको चलन खासै मन पर्दैन ।’

यी विभिन्न दृष्टिकोणले देखाउँछ कि नेवार समुदायमा तीजको परम्परागत अभ्यास नभएपनि आधुनिक समयमा धेरैले यसलाई अपनाइरहेका छन् ।

संस्कृतिले समयअनुसार रूपान्तरण गर्ने भएकाले, पुरानो नियमअनुसार व्रत बस्नै नपर्ने धारणा हुँदाहुँदै पनि आजकल नेवार युवती र महिलाले तीजलाई रमाइलो र आस्थासँग जोडेर मनाउने गरेका छन् ।

संस्कृतिहरू एक–अर्कासँग मिसिँदै जाने प्रक्रियालाई अस्वाभाविक ठान्नु हुँदैन । जसरी अन्य समुदायले नेवार जात्रामा रमाउन थालेका छन्, त्यसैगरी नेवार महिलाले पनि साथी–संगत, आस्था वा रमाइलोको निम्ति तीज मनाउनु स्वाभाविक हो ।

यसरी हेर्दा तीजको व्रत बस्ने–नबस्ने विषयलाई नेवार समुदायमा फरक दृष्टिकोणबाट बुझिन्छ ।

धार्मिक परम्पराले व्रत बस्नुपर्ने आवश्यकता नराखेपनि व्यक्तिगत आस्था र सामाजिक परिवर्तनले यसलाई अपनाउने चलन बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij